महेन्द्र सिंह धोनी बारे नयाँ खुलासा ! - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

महेन्द्र सिंह धोनी बारे नयाँ खुलासा !



मुम्बई : भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरभ गांगुलीले अर्का पूर्वकप्तान महेन्द्रसिंह धोनीसँगको आफ्नो सम्बन्धका बारेमा एउटा खुलासा गरेका छन् । गांगुलीले पुराना दिन सम्झँदै धोनी ब्याटिङ क्रमको तेस्रो नम्बरमा कसरी आए भन्ने कुरा सविस्तार बताएका छन् । भारतीय टोलीका सफल कप्तानमध्येका एक गांगुली र धोनीले केही समय एउटै टोलीमा रहेर खेलेका थिए ।

धोनीले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दा गांगुली भारतीय टोलीका कप्तान थिए । धोनीले आफ्नो पहिलो खेल बंगलादेशविरुद्घ चटगाउँमा खेलेका थिए । भारतका लागि एक सय १३ टेस्ट तीन सय ११ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका गांगुलीले बंगलादेश भ्रमणकै क्रममा धोनीको क्षमता आफूले चिनेको बताएका छन् ।

‘धोनी सन् २००४ मा राष्ट्रिय टोलीमा आबद्ध भएका हुन् । उनी सुरुका दुई खेलमा सातौं नम्बरमा ब्याटिङ सम्हाल्न आएका थिए । त्यसपछि पाकिस्तानविरुद्घको खेलका लागि समेत उनी टोलीमा परे र त्यो खेलमा पनि उनको ब्याटिङ क्रम सातौं नम्बरमै थियो’, गांगुलीले भन्छन्, ‘कोठामा फर्किएपछि समाचारमा पनि मैले उनको खेल हेरेँ । उनी क्षमतावान् खेलाडी हुन् भन्नेमा म विश्वस्त थिएँ तर उनको खेलमा अझ बढी निखार कसरी ल्याउने भन्नेमा म निकै घोत्लिएँ ।’

त्यसपछि दोस्रो दिनको खेलको प्रसंग कोट्याउँदै गांगुली भन्छन्, ‘दोस्रो दिनको खेलमा टस जितेर ब्याटिङको निर्णय लिएपछि एकाएक मेरो दिमागमा धोनीलाई तेस्रो क्रममा ब्याटिङ गर्न पठाउने विचार आयो । उनी सातौं नम्बरमा ब्याटिङ गर्न भनेर बसेका थिए । मैले उनलाई बोलाएर तेस्रो नम्बरमा ब्याटिङ गर्न तयार भएर बस भनेँ । त्यसपछि धोनीले उल्टै मलाई तपाईं कति नम्बरमा जाने नि भनेर प्रश्न गरे’, गांगुलीले पुराना दिन सम्झिए, ‘मैले आफू चौथो नम्बरमा क्रिजमा ओर्लने बताएपछि उनी तेस्रो क्रममा ब्याटिङका लागि तयार भए।’

धोनीलाई तेस्रो नम्बरमा ब्याटिङका लागि पठाउने कप्तान गांगुलीको निर्णय सही पनि साबित भयो। उक्त खेलमा हरेक पाकिस्तानी बलरलाई आच्छुआच्छु पार्दै धोनी एक्लैले एक सय ४८ रन बनाए। आफ्नो पालिमा धोनीले चार छक्का र १५ वटा चौका प्रहार गरेका थिए। उक्त खेलमा भारत ५८ रनले विजयी भएको थियो भने धोनी म्यान अफ दी म्याच घोषित भएका थिए ।

यसरी आफूले सही व्यक्ति (धोनी) लाई सही स्थानमा ब्याटिङका लागि निम्त्याएर उनी भित्रको क्षमता बाहिर ल्याएको गांगुलीले बताएका छन् । एकपछि अर्को उत्कृष्ट प्रदर्शनका कारण धोनीले पछि गएर कप्तानको जिम्मेवारी सम्हाल्ने अवसर पाए । उनको कप्तानीमा भारतले सन् २०११ को एकदिवसीय विश्वकपको उपाधि जितेको थियो भने सन् २००७ मा टिट्वेन्टी विश्वकपको उपाधि हात पारेको थियो । यसैगरी सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफीमा भारतको सफलतामा पनि धोनीकै महत्वपूर्ण योगदान थियो ।