धर्मगुरु श्रीनिवासलाई १० दिनसम्म थुनामा राख्न जिल्ला अदालतको आदेश - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

धर्मगुरु श्रीनिवासलाई १० दिनसम्म थुनामा राख्न जिल्ला अदालतको आदेश



काठमाडौं– आफैलाई गोली हान्न लगाएका धर्मगुरु आचार्य श्रीनिवासलाई १० दिनसम्म अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतले प्रहरीलाई म्याद दिएको छ।

हतियार तथा खरखजना मुद्दामा अनुसन्धान गर्नका लागि उनलाई प्रहरीले मंगलबार मोरङ जिल्ला अदालतमा पेश गरेको थियो। उनीमाथि अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालयले २५ दिनको समय माग गरे पनि अदालतले १० दिनको म्याद दिएको स्रेस्तेदार नवराज दुलालले बताए। श्रीनिवासलाई गोली हान्ने दुई जनालाई भने कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने भएको छ।

आचार्यमाथि कुन अभियोगमा मुद्दा दर्ता गर्ने भन्ने अन्योल भएपछि प्रहरी र सरकारी वकिलको कार्यालयले हातहतियार तथा खरखजना अन्तर्गत मुद्दा दायर गर्न लागेको हो।

उक्त मुद्दामा दोषी प्रमाणित भएमा श्रीनिवासलाई बढीमा एक वर्षमात्र जेल सजाय हुनेछ। अन्य दुई अभियुक्तमाथि भने कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ५ वर्षभन्दा बढीको सजाय हुनेछ।

दिल्ली प्रस्थान गर्न लागेको अवस्थामा श्रीनिवास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ परेका थिए। धार्मिक हिंसा भड्काउने उद्देश्यले उनले आफैमाथि गोली हान्न लगाएको रहस्य प्रहरीले पत्ता लगाएको छ।