धरौटीमा रिहा हुने बित्तिकै प्रकाण्ड पुनःपक्राउ - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

धरौटीमा रिहा हुने बित्तिकै प्रकाण्ड पुनःपक्राउ



भोजपुर। नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले बुधबार धरौटीमा रिहा गरे लगतै प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्गनामको एकल इजलासले ६० हजार धरौटीमा रिहा गरिएलगतै पुनः पक्राउ गरी दाङ लगिएको बताइएको छ ।

धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विस्फोट गराएको मुद्दामा २५ हजार, षडानन्द नगरपालिका–३ भिरथाप्लोमा भएको बम विस्फोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका–२ सहकारी टोलमा वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विस्फोटमा १० हजार धरौटीमा छुटाइएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी एवं स्रेस्तेदार मणिराम पोखरेलले जानकारी दिए ।

उक्त मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले वादीका तर्फबाट वकालत गरेका थिए भने प्रतिवादी प्रकाण्डको पक्षमा अधिवक्ता भीषण श्रेष्ठ, जिता मुकाङ्ग र रामकुमार राईले वकालत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले भने धरौटीमा छुटेका प्रकाण्डलाई पुनः पक्राउ गरी दाङतर्फ लाने भएको छ । प्रकाण्डलाई मङ्गलबार विराटनगर हुँदै भोजपुर ल्याइएको थियो । रासस