भ्रष्टाचारी न दलको हुन्छ, न त देशको: धनराज गुरुङ - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

भ्रष्टाचारी न दलको हुन्छ, न त देशको: धनराज गुरुङ



भैरहवा । राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन् ।

भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, ‘नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ । यो चिन्ताको विषय हो ।’

उनले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका बताए । प्रष्ट विचार र सहीलाई सही, गलतलाई गलत भन्नेहरूलाई हरेक राजनीतिक पार्टीमा पाखा लगाउने काम भएको भन्दै दुःख व्यक्त गर्दै उनले भने, ‘मैले पनि बल्लबल्ल दुई मतले कांग्रेस उपसभापति जितें। मेरो राजनीतिक तथा व्यक्तिगत जीवनमा जीतहारले खासै अर्थ नराख्ला तर म उपसभापति नजितेको भए तपाईंहरूजस्ता सङ्घसंस्थाले पनि मलाई बोलाउनुहुन्न । समाजिक सङ्घसंस्थाले पनि पदलाई महत्व दिन थाल्नुभएको छ । यहीबाट राजनीति बिग्रिन सुरु भएको हो ।’

उनले भ्रष्ट भनेर चिनिएकाहरूलाई बहिष्कार गर्न पनि आग्रह गरे । गुरुङले भने, ‘भ्रष्टाचारी न दलको हुन्छ, न त देशको । ऊ जुनसुकै तहमा वा पार्टीको भए पनि भ्रष्टाचारी नै हो । अख्तियारले दोषी देखाएमात्रै भ्रष्टाचारी भन्ने होइन, कुनै पनि मान्छेको हैसियत अस्वाभाविकरूपमा वृद्धि हुन्छ भने त्यसतर्फ आम नागरिकले खोजीनीति गर्नुपर्छ ।’