अख्तियारलाई धनराजको प्रश्न: ठुला नेतालाई जेल हालेको खोई ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

अख्तियारलाई धनराजको प्रश्न: ठुला नेतालाई जेल हालेको खोई ?



बुटवल। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ रुपन्देही पुगेर ठूला भ्रष्टाचारीप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन्। उनले साना साना भ्रष्टाचार गर्नेलाई मुद्दा चलाए पनि ठूला भ्रष्टाचार काण्डको छानबिनसमेत नभएको उनले बताए।

शुक्रवार रुपन्देही सदरमुकाम भैरहवामा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले ठूला काण्डमा ठूला नेता र कर्मचारी पर्छन् भनेर अख्तियार घर्रामा फाइल बन्द गरेर बसेको आरोप लगाए।

कार्यक्रममा उनले भष्ट्राचार छानबिन सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएको बताए। नेता गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस ७० करोड, वाइड बडी, ओमनी, यति, ललिता निवास जग्गा प्रकरणलगायत भ्रष्टाचार काण्डको छानबिन हुन नसकेको प्रति पनि दुःख व्यक्त गरे।

उनले भने, “सानालाई मुद्दा चलाउने, ठूलालाई मुद्दा चलाउन थरथर काँप्ने ? भ्रष्टाचारको विषयमा पटकपटक केन्द्रीय समितिमा कुरा उठाउँदै आएको छु।”

संसारमा ठूला नेता पनि जेल गएको इतिहास भएको भन्दै उनले नेपालको सन्दर्भमा छानबिन नहुनु दुःखद् भएको बताए। आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पनि भ्रष्टाचार काण्डको छानबिन गर्न भनेको उनले जानकारी दिए।

भारतले नेपालको भूमिमाथि अतिक्रमण गर्दै आएको भन्दै भारतलाई कूटनीतिक नोट पठाएर मात्र नहुने, वार्ता अगाडि बढाउनुपर्ने उनले सुझाव दिए। उनले भने, “प्रधानमन्त्रीले नै अग्रसरता लिएर कूटनीतिक वार्ता बढाउनुपर्छ, सधैंका लागि समाधान खोज्नुपर्छ, हाम्रो भूमि हामीले उपयोग गर्न पाउनुपर्छ।”

राष्ट्रियताका सन्दर्भमा पार्टीभन्दा माथि उठ्नुपर्ने भन्दै उनले राष्ट्रियताको सन्दर्भमा कुनै पनि नेताले व्यक्तिगत विचार राख्न नहुने बताए। उनले भने, “राष्ट्रियता खतरामा पर्दा नबोल्ने हो भने के का लागि राजनीतिक गरेका छौं ? देश र जनता तथा राष्ट्रिय स्वाधिनताको सन्दर्भमा बोल्न सकेनौं भने राजनीति छोड्नुपर्छ,” उनले भने।

एमसीसी राष्ट्रिय एजेण्डा भइसकेका र यो विषय भू-राजनीतिसँग पनि सम्बन्धित भएकाले सर्वदलीय संयन्त्र बनाएर समाधान खोज्नुपर्ने उनले बताए। “मुलुकको साझा एजेण्डाको विषयमा सत्ता र प्रतिपक्षको आँखाले हेर्नुहुँदैन, कि एमसीसी संशोधनसहित पास गर्नुपर्छ, नत्र फिर्ता पठाउनुपर्छ,” उनले भने।