धनगढी विमानस्थलमा उपकरण राखिदैँ - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

धनगढी विमानस्थलमा उपकरण राखिदैँ



धनगढी ,कैलाली ।।
धनगढी विमानस्थलमा रात्रिकालिन उडान भर्न सकिने उपकरण जडान हुने भएको छ । जापानी सहयोग नियोग (जाईका) को सहयोगमा विमानस्थलमा भीओआरडीएमई (रात्रिकालिन उडान भर्न सकिने उपकरण) जडान हुन लागेको हो ।

उपकरण राख्नका लागि ठेक्का पाएको कम्पनी र नेपाल नागरिक उड्ययन प्राधिकरणका प्राविधिकहरुले विमानस्थलको स्थलगत अनुगमन गरेका छन् । प्राविधिक टोलीले उपकरण राख्न अधिग्रहण गरेको जग्गाको भौगोलिक अवस्थिति हेरेको हो ।

टोलीमा सहभागी नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक संजिवसिंह कठायतले अधिग्रहण गरिएको जग्गा भीओआरडीएमई उपकरण राख्नका लागि उपयुक्त देखिएको बताए । भीओआरडीएमई राख्न सके खराब मौसमका कारण विमान सेवा रद्द गर्नुपर्ने अवस्था नरहने उपनिर्देशक कठायतले बताए ।

जापानमै टेण्डर भएर निर्माण कम्पनीका प्राविधिक स्थलगत अध्ययनका लागि यहाँ आईपुगेका हुन् । एक वर्षभित्रै उपकरण जडानको कार्य सकिने प्राधिकरणले जनाएको छ । धनगढी विमानस्थलमा भीओआरडीएमई उपकरण नहुँदा रात्रिकालिन उडान हुन सक्दैन भने हुस्सु लागेका बेला हिउँदयाममा उडान रद्द हुने गरेका छन् ।

यस वर्ष पुसयतामात्र हुस्सुका कारण १६ दिन उडान रद्द भएको नागरिक उड्ययन प्राधिकरण धनगढीले जनाएको छ । प्राधिकरणका प्रमुख छविसिंह ठगुन्नाले भीओआरडीएई उपकरण नहुँदा हवाई सेवा प्रभावकारी हुन नसकेको बताए ।
उडान रद्द हुँदा यात्रुले सास्ती भोग्ने गरेका छन् । प्रदेश नम्बर सातमा नियमित रुपमा संचालित एकमात्र धनगढी विमास्थलमा निजि क्षेत्रका वुद्ध, सौर्य र श्री यअरसाईन्स तथा नेपाल एअरसाईन्सले काठमाण्डौं–धनगढी दैनिक १÷१ वटा उडान भर्ने गरेका छन् ।

‘हुस्सुका कारण उडान प्रभावित हुने भएकाले खासगरी हिउँदयाममा हवाई सेवा भरपर्दो छैन ।’ ठगुन्नाले भने, ‘हुस्सु लागेका बेला भिजिविलिटी नपुग्ने भएकाले उडान रद्द हुने गरेको छ ।’ उपकरणको सहायता विना अवतरणका लागि १५ किलोमिटरको भिजिविलिटी आवश्यक पर्ने उनले बताए । भीओआरडीएमई उपकरण जडान भए हुस्सुका बेला र रात्रिकालिन उडान भर्न सकिने भएकाले हवाई सेवा प्रभावकारी हुने उनले बताए ।
३० मिटर चौडा र एक हजार ८ सय मिटर लामो कालोपत्रे धावन मार्ग भएको धनगढी विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि दोश्रो लामो धावन मार्ग भएको विमानस्थल हो । जग्गा अधिग्रहण प्रकृया सकिए यो विमानस्थलको क्षेत्र ७० विघा पुग्ने छ । जग्गा अधिग्रहणमा अल्झिदा लामो समयदेखि विमानस्थल स्तरोन्नतिको काम हुन सकेको छैन ।

यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नारदमुनी रानाले धनगढी विमानस्थलको स्तरोन्नति प्रदेश नम्बर सातको प्राथमिकताको योजना भएको बताएका छन् । आफू निर्वाचित भईसकेपछि स्तरोन्नतिका लागि पर्यटन मन्त्रालय तथा नागरिक उड्ययन प्राधिकरणमा गएर पहल गरेको बताए ।

दुई जनाको उजुरीले मुआब्जा वितरण रोकियो
भीओआरडीएमई उपकरण जडानका लागि प्राधिकरणले गत वर्ष १७ विघा ४ कठ्ठा जग्गा अधिग्रहण गरेको थियो । तर अहिले मुआब्जाबारे विवाद देखिदा उक्त जग्गाको स्वामीत्व प्राधिकरणमा आउन सकेको छैन । मुआब्जा रकममा चित्त नबुझेको भन्दै दुई जनाले उजुरी गरेपछि मुआब्जा वितरण र स्वामीत्व हस्तान्तरणको काम रोकिएको हो ।

मुआब्जामा चित्त नबुझेको भन्दै पुनर्विचारको मागसहित जग्गाधनी यादव प्रसाद जोशी र जयबहादुर भण्डारीले गृह मन्त्रालयमा मुद्दा दायर गरेपछि मुआब्जा वितरण कार्य रोकिएको छ । मुआब्जा निर्धारण भएर आधा भन्दा बढी रकम वितरण गरि सक्दा केही जग्गाधनीले विवाद सिर्जना गर्न खोजेका विमानस्थल प्रमुख ठगुन्नाले बताए ।

२३ करोड ११ लाख रुपैया मुआब्जा रकम मध्ये ८ करोड रुपैया मुआब्जा वितरण कार्य रोकिएको हो । ‘दुई जनाले मुद्दा गरेपछि बढी मुआब्जा पाइएला कि भनेर मुआब्जा लिन बाँकी रहेकाहरु पनि रकम लिन आएका छैनन् ।’ ठगुन्नाले भने, ‘अधिग्रहण सकिनै लाग्दा भएको मुद्दामामिलाले विमानस्थलको स्तरोन्नतिको काम नै प्रभावित हुने देखिएको छ ।’

मुद्दापछि गृहमन्त्रालयले मुआब्जा निर्धारण प्रकृयाबारे जिल्ला प्रशासन कार्यालयसंग जानकारी मागेको छ । मुआब्जा निर्धारणबारे मन्त्रालयलाई जानकारी दिइएको र पुनर्विचार गर्नेबारे मन्त्रालयबाट निर्णय भईनसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मुआब्जा विवादले विमानस्थलको स्तरोन्नतिको काम प्रभावित हुन सक्ने भन्दै प्राधिकरणले यसमा सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ । epaschimtoday बाट