कैलालीको धनगढीबाट युवक अपहरण गर्ने तिनजना पक्राउ
धनगढी, कैलाली । धनगढीको जलशा होटलमा कामदारबीच सामान्य विवाद हुँदा एक युवक अपहरणमा परेका छन्। अपहरणकारीले उनलाई मोटरसाइकलमा राखेर अपहरण गरी मोहना नदीतर्फ लगेका थिए।
जलशा होटलको रेस्टुरेन्टमा काम गर्ने २० वर्षीय चक्र खड्का र १९ वर्षीय वसन्त भाटबीच सामान्य विवाद भएको थियो। विवाद बढेपछि खड्काले साथीहरु बोलाएर भाटलाई मोटरसाइकलमा राखी मोहना नदीतर्फ लैजाँदै गर्दा प्रहरीले उद्धार गरेको छ। घटना बिहान करिब ९ बजेतिरको हो। खड्काले चारपाँच जना साथी बोलाएर आफूलाई मार्छु भन्दै मोटरसाइकलमा जबरजस्ती राखेर मोहनातर्फ लगेको भाटले बताए।
कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गोविन्द खड्काले भाटको अपहरणमा संलग्न चक्र खड्का, धनगढी–२ का १९ वर्षीय हर्केश बाग र १९ वर्षीय कुन्दन जोशीलाई पक्राउ गरेको जानकारी दिए। साथै अपहरणमा प्रयोग भएको से७प ३४४५ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। अपहरणमा संलग्न अन्यको खोजी कार्य जारी रहेको खड्काले जानकारी दिए।
वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले भाटको मोवाईलमा फोन गर्दा अपहरणकारीले नै उठाएर हामी मारेर खाल्डोमा गाड्ने तयारीमा छौ भनेका थिए। सिंहले तिमिहरु कोहौ र कति नम्बरको मोटरसाईकल चलाएका छौ त्यो सब थाहा छ म गोली हानेर उडाउछु भनेर डर देखाएपछि उनीहरु भागेको बुझिएको छ। अपहरणमा संलग्न एक जना अझै फरार छन् । साभार : नेपाल समय . कम