धनगढी विमानस्थलमा दलदले माटो भेटियो - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

धनगढी विमानस्थलमा दलदले माटो भेटियो



धनगढी । धनगढी विमानस्थलको धावनमार्गमा दलदले माटो भेटिएको छ । १८ सय मिटर लामो धावनमार्गको ५२६ मिटर लम्बाइ र ११ मिटर चौडाइ क्षेत्रमा दलदले माटो भेटिएको हो । हवाई उडान बन्द गरेर स्तरोन्नतिको काम भइरहेको छ ।

दलदले माटो भेटिएपछि धावनमार्ग कालोपत्रेको काम लक्ष्यअनुसार हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । पाँच मिटर गहिराइसम्म दलदले माटो भेटिएको स्तरोन्नतिको कामको निरीक्षणमा खटिएका नागरिक उड्डयन प्राधिकरणका कन्सल्ट्यान्ट योगेन्द्रराज शर्माले बताए ।

प्राधिकरणका पूर्वइन्जिनियरसमेत रहेका शर्माका अनुसार सुरुमा धावनमार्गको एक सय मिटर लामो क्षेत्रको बेसकोर्स हटाउने योजना थियो । तर, रोलिङ गर्दा माटो भासिएको उनले बताए । ‘भासिनुको कारण हेर्दा मुनि दलदले माटो रहेछ,’ उनले भने, ‘५१६ सय मिटर क्षेत्रमा करिब पाँच फिटमुनिसम्म दलदले माटो हटाएका छौँ ।’

चार सय मिटर क्षेत्रमा दलदल हटाएर बेस हालेपछि थप १२६ मिटरमा दलदल भेटिएको धनगढी विमानस्थल प्रमुख तेजबहादुर बुढ्थापाले बताए । दलदले माटो निकालेर गिट्टी हाल्ने काम भइरहेको उनको भनाइ छ ।

गत २२ वैशाखदेखि विमानस्थल बन्द गरेर स्तरोन्नतिको काम भइरहेको छ । धावनमार्गको स्तरोन्नति गरेर २२ जेठदेखि हवाई सेवा सुचारु गर्ने उद्देश्य प्राधिकरणको छ । तर, निर्माणमा भइरहेको ढिलाइले निर्धारित अवधिमै हवाई उडान सुचारु हुनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

दलदले माटो भेटिएपछि धावनमार्ग स्तरोन्नतिको काम हालसम्म करिब ३० प्रतिशत मात्र पूरा भएको विमानस्थल प्रमुख बुढ्थापाले बताए । प्राधिकरणका अनुसार १८ सय मिटरमध्ये पाँच सय मिटर कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । नयाँ पत्रिकामा समाचार छ