अस्पतालहरूले धमाधम घर फर्काउँदै कोरोना संक्रमित - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

अस्पतालहरूले धमाधम घर फर्काउँदै कोरोना संक्रमित



कैलाली- कोरोना पुष्टि भए पनि लक्षण नदेखिएको भन्दै सेती प्रादेशिक अस्पतालले आइसोलेसनमा नराखी संक्रमितलाई फिर्ता पठाएको खुलेकोछ।

धनगढी-१४ का २२ वर्षीया युवती, २६ वर्षीय युवक र घोडाघोडी नगरपालिकाका संक्रमित पुरुषलाई सेती अस्पतालले आइसोलेसनमा नराखी फिर्ता पठाएको हो।

बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनगढीका २६ वर्षीय संक्रमित युवकले हिजो सेती प्रादेशिक अस्पतालमा लगिए पनि केही जानकारी नै नदिई फेरि क्‍वारेन्टाइनमा फिर्ता पठाइएको बताए।

हिजो बिहान एम्बुलेन्समा सेती अस्पताल लगिएको बताउँदै संक्रमित युवकले हामीलाई अस्पताल पुर्‍याएपछि एक पटक एम्बुलेन्सबाट समेत नझारी पुनः क्‍वारेन्टाइनमा ल्याएर छाडिएको बताए।

एम्बुलेन्स चालकले औषधि खानु भनेर दिएको तथा अर्की संक्रमित युवती र आफूलाई एउटै कोठामा राखिएको उनले बताए।

यस्तै, घोडाघोडी नगपालिकाका संक्रमितलाई पनि सेती अस्पतालले संक्रमणको लक्षण नदेखिएको बताएर होम आइसोलेसनमा बस्‍न भन्दै फिर्ता पठाएको छ।

अस्पतालले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण देखिएका बिरामीलाई होम आइसोलेसनमा राख्‍ने उल्लेख भएको बताउँदै उनीहरूलाई फिर्ता पठाइएको बताएको छ।

यसअघि हिजो सेती अस्पतालले ६ जना कोरोना संक्रमितहरूलाई १४ दिन आइसोलेसनमा राखेर रिस्चार्ज गरेको थियो। डिस्चार्ज हुनेमा एकै घरका बाबु र छोरीसहित अरू चारजना थिए।

अस्पतालले अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र उनकी ११ वर्षीया छोरी, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिकाकै वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरेको थियो।

उनीहरूलाई कोरोनामुक्त भएर डिस्चार्ज गरिएको भने थिएन। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालको भनाइ थियो।

संक्रमित व्यक्तिहरूमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न मिल्ने निर्देशिकाको नयाँ व्यवस्थाअनुसार उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्‍ठले बताएका थिए।

अस्पतालले डिस्चार्ज दिएपछि पनि उनीहरू घर फर्केर जाने कुनै उपाय भएन। र, पुनः प्रि-आइसोलेसनमा भर्ना गरियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जेठमा जारी गरेको नयाँ निर्देशिकामा कुनै लक्षण नदेखिएका संक्रमितहरूलाई १४ दिनपछि घरमै आइसोलेसनमा बस्‍नेगरी चिकित्सकले डिस्चार्ज गर्न सक्ने उल्लेख छ। सोही व्यवस्थामा टेकेर अस्पतालले कोरोना संक्रमणमुक्त नभएका बिरामीलाई पनि घर र क्‍वारेन्टाइनमा बस्‍न भन्दै फर्काउन थालेको छ।