स्वास्थ्यमन्त्री ढकाललाई कारबाही गर्न सर्वोच्चको पत्र: एक साताको अल्टिमेटम - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

स्वास्थ्यमन्त्री ढकाललाई कारबाही गर्न सर्वोच्चको पत्र: एक साताको अल्टिमेटम



काठमाडौँ- सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलना गरेको आरोपमा कारबाही किन नगर्ने भन्दै पत्र पठाएको छ । ढकाललाई एक साताभित्र जवाफ दिने अल्टिमेटम दिँदै सर्वोच्चले पत्र पठाएको छ।

अदालतको अवहेलना गरेको आरोपमा किन स्वास्थ्यमन्त्री ढकाललाई कारबाही नगर्ने आधार के हो एक साताभित्र त्यसको लिखित जवाफ माग गरेको हो ।

सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई नि:शुल्क उपचार गर्नु भनी गत असोज १५ गते सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यो आदेशविरुद्ध सरकारले केही निश्चित वर्गबाहेक अरुको हकमा शुल्क लिने निर्णय गरेको थियो ।

त्यही निर्णयविरुद्ध अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना निवेदन दर्ता गरेका थिए ।

सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्यमन्त्री ढकालविरुद्ध निवेदन दर्ता भएकोमा पछि भने प्रधानमन्त्री ओलीको नाम हटाइएको थियो ।

त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? नगर्ने भए एक साताभित्र लिखित जवाफ दिनु’ भनी आदेश गरेको हो ।

अब स्वास्थ्यमन्त्री ढकालले आफू स्वयं वा आफ्नो कानुन व्यवसायीमार्फत लिखित जवाफ दिनुपर्नेछ ।