स्वास्थ्यमन्त्री ढकाल झनै संकटमा
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल झनै संकटमा परेका छन् । मन्त्री बनेपछि लगातार विवाद र संकट झेल्दै आएका ढकाल अहिले झनै संकटमा परेका छन् । ओम्नी ग्रुपले नेपाल एयरलाइन्सको जहाज चार्टर गरेवापतको ढुवानी भाडा नदिएको खुलेपछि उनले थप संकट झेल्नुपर्ने अवस्था आएको हो ।
ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेको थियो।शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले ओम्नीले अझै ढुवानी वापतको भुक्तानी नदिएको जानकारी दिए। यसमा स्वास्थ्य मन्त्रालय जिम्मेवार रहेको पनि उनले बताएका थिए ।
स्वास्थ्य मन्त्रालयले जिम्मा लिएको तर अहिलेसम्म भाडा नतिरेको कारण पहिलेदेखि नै विवादित बनेको यो काण्ड थप चर्चामा आउने निश्चित बनेको छ । भाडा विवादले स्वास्थ्यमन्त्रीले थप तनाव झेल्नुपर्ने छ ।
ओम्नीले चैत महिनामा नेपाल एयरलाइन्सको जहाजमा चीनबाट स्वास्थ्य सामग्री ल्याएको थियो। पहिलो चरणमा २१ करोड रूपैयाँको सामग्री ल्याउँदा खरिद प्रक्रिया विवादित बनेपछि चैत १९ गते सरकारले ओम्नीसँगको सम्झौता रद्द गरेको थियो।
पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भने, ‘चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादित ओम्नी समूहले अहिलेसम्म ढुवानी बापतको रकम एयरलाइन्सलाई दिएको छैन। टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउन बाँकी छ। एयरलाइन्सले पाउन बाँकी छ। हामी छिट्टै लिन्छौँ। ठेकेदारले पैसा कमाएको छ हामीले किन स्वयंसेवा गर्ने? ओम्नी समूहले पैसा तिर्नुपर्छ। त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रलाय हुन्छ।’