रामकृष्ण ढकाल र नीलमबीच १७ वर्ष 'फिल्मी' प्रेम र 'पारस' विवाद - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

रामकृष्ण ढकाल र नीलमबीच १७ वर्ष ‘फिल्मी’ प्रेम र ‘पारस’ विवाद



काठमाडौं- सामान्य किसान परिवारका सदस्य रामकृष्ण ढकालले १० वर्षको उमेरमा ‘गाजलु ती ठूलाठूला आँखा’ गाएर गायन यात्रा सुरु गरेका थिए। कलेज कलेजमा गीत गाउँदै संघर्ष गरेका उनी नारायण गोपालका गीत गाएर चर्चित भएका थिए।

ढकाल गायन यात्राको जीवनकै उच्चबिन्दुमा थिए। उनको ‘आधार’ एल्बम निस्किएर हिट भइरहेको थियो। यही बेला ढकालले एक विज्ञापनमा नीलम शाहको तस्बिर देखेपछि उनलाई खोज्दै कलेज पुगेका थिए। दुवैबीच फोन संवाद सुरु भयो। फोनमा कुरा गर्दागर्दै भेटघाट बढ्यो। दुवैको मनमा प्रेम टुसायो।

ढकालले शाहको बुबालाई फोन गरेर शाहसँग विवाह गर्न चाहेको बताए। नीलमका ठकुरी बुबा ढकालसँग विवाह गरिदिन राजी भएनन्। उनको परिवारको चयन ठकुरी बिरादरीमै थियो।

तर दुवैको प्रेमले शाहको परिवार विवाहका लागि राजी भयो र चिनजान भएको डेढ महिनामै ठकुरी परिवारकी नीलमसँग २०५९ मंसिर १४ मा ढकालको विवाह भयो। यो खबर पुस १८ काे शुक्रबार साप्ताहिकले छापेको छ।

शाहसँग विवाह भएसँगै ढकालको लवाइखवाइ र जीवनशैली नै बदलियो। सोझो छविका उनी एकाएक कानमा कुण्डल लगाउँदै देखापरे। शाहमा पनि मोडलिङको सौख थियोे। उनले ढकालसँगै ‘नजिक आउनुमा’ बोलको गीतमा म्युजिक भिडियोमा अभिनय पनि गरिन्।

नगरकोटमा दोस्रो एनिभर्सरी मनाउन जाने क्रममा पूर्वयुवराज शाहले नीलमलाई जिस्क्याएको विषयमा ढकाल र पारसबीच झगडा भएको चर्चा भएको थियो।

विवादमा पारसले ढकाललाई कुटेको दाबी आएको थियो। तर ढकालले पारससँग आएकाहरूसँग विवाद भए पनि कुटाकुट नभएको दाबी गरेका थिए।

शाहसँगको प्रेमयात्राबारे प्रायः ढकालले भन्ने गर्थे, ‘हाम्रो प्रेम र विवाह फिल्मी छ, फिल्म बनाए पनि हुन्छ।’

पुस ८ अगाडि फिल्म बनेको भए सायद ह्याप्पी इन्ड्रि हुन्थ्यो कि! अब रामकृष्ण र नीलमको प्रेमयात्राबारे फिल्म बन्यो भने इन्डिङ ट्रेजेडीमा टुंगिनेछ।