प्रतिबन्धपछी पनि आफैलाई प्रमाणित गरेका वार्नर - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रतिबन्धपछी पनि आफैलाई प्रमाणित गरेका वार्नर



एजेन्सी — डेविड वार्नरले अस्ट्रेलियाका लागि अहिले चलिरहेको विश्वकप क्रिकेट खेल्न पाउनु पनि आफ्नो ठूलो भाग्य रहेको स्विकारेका छन् । बंगलादेशविरुद्ध निर्णायक शतकीय इनिङ्स खेलेपछि वार्नर अहिले उत्कृष्ट लयमा छन् । केपटाउनमा गत वर्ष सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा बल टेम्परिङ गरेको आरोप लागेपछि उनलाई एकवर्षे प्रतिबन्ध लगाइएको थियो ।

त्यस क्रममा उनको खेलजीवन टुंगिएको अनुमान गरिएको थियो । तर एकवर्षे प्रतिबन्धपछि ३२ वर्षीय वार्नर विश्वकपमा डिफेन्डिङ च्याम्पियनका लागि प्रमुख खेलाडी साबित भएका छन् । बायाँहाते प्रारम्भिक ब्याट्सम्यानले ट्रेन्ट ब्रिजमा १ सय ६६ रन बनाएका थिए । उनको यो विश्वकपको दोस्रो शतक पनि हो ।

यससँगै उनी यस विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी सूचीमा पनि शीर्षस्थानमा छन् । उनले ८९.४ को औसतले ४ सय ४७ रन बनाइसकेका छन् । वार्नरलाई एक वर्ष प्रतिबन्ध लागेको क्षणलाई अस्ट्रेलियाली क्रिकेटको कालो वर्ष मानिन्छ । उनीसँगै तत्कालीन कप्तान स्टिभ स्मिथ पनि एक वर्षको प्रतिबन्धमा परेका थिए ।

एक वर्षको प्रतिबन्धले उनको खेलमा परेको प्रभावबारे सोधिएको प्रश्नले उनले भने, ‘मैले आरामको अवसर पाएँ, एक वर्ष बिताउन सजिलो पनि थिएन । अझ एक साता काट्न पनि गाह्रो थियो । तर मैले आफ्नो फिटनेसका लागि निकै मिहिनेत गरेको थिएँ ।’