देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने



काठमाडौं /असोज २४ ।

भरतपुर महानगरपालिका पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने योजना बनाएका छन् ।

एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएपछि ज्ञवालीले एमाले परित्याग गर्ने तयारी गरेका हुन् । उनले आफू निकटका एमाले नेताहरूसँग प्रचण्डसँग एउटै पार्टीमा बस्न नसक्ने सुनाएका छन् ।

‘मलाई हराउन प्रचण्डले कांग्रेससँग मिलेर ठूलो षड्यन्त्र गरे’, ज्ञवालीको भनाइ उदृत गर्दै एमाले चितवनका एकजना पदाधिकारीले भने, ‘प्रचण्डको पक्षमा मत माग्नुभन्दा बरु एमाले पार्टी नै छाडेर स्वतन्त्र रुपमा बस्छु ।’

प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई जिताउनका लागि नेपाली कांग्रेससँग तालमेल र जालझेल गरेर ज्ञवालीलाई पराजित गराएका थिए ।

भरतपुर महानगरपालिकाको मेयरमा जितेर पनि हारेका ज्ञवालीले माओवादी केन्द्रलाई कुनै पनि हालतमा आफूले सहयोग गर्न नसक्ने बताउँदै आएका छन् ।

प्रचण्ड चितवनमा प्रतिस्पर्धा गर्ने हो भने देवी ज्ञवालीको राजनीतिमा कहिल्यै पनि उन्नती हुने छैन ।

स्रोतका अनुसार एमाले परित्याग गरेपछि ज्ञवाली नेपाली कांग्रेसमा प्रवेशको तयारी थालेका छन् । ‘देवी ज्ञवाली एमाले र एमालेका नेताहरूसँग बिरक्तिनु भएको छ’, स्रोतले भन्यो, ‘विशेष गरेर केपी ओली र प्रचण्डको व्यवहारबाट आजित हुनुहुन्छ ।’ बरु निस्वार्थ भावना राखेर नेपाली कांग्रेसलाई सहयोग गर्ने तयारी गरेको आफन्तले समेत बताएका छन् ।

नेता ज्ञवालीले आफूलाई हराउन ठूलो भूमिका खेल्ने प्रचण्डको प्रचार गर्न केपी ओलीले निर्देशन दिएकोमा पनि चित्त दुखाएका छन् । उनले ओलीको निर्देशनलाई कहिल्यै नमान्ने जवाफ समेत फर्काइ सकेका छन् ।

रिपब्लिक दैनिकबाट