मिडियाबाट भएको प्रचार ठिक होइन: देवेन्द्र पौडेल - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

मिडियाबाट भएको प्रचार ठिक होइन: देवेन्द्र पौडेल



काठमाडौं- माओवादी केन्द्रका नेता एवं नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले उद्योगमन्त्री गजेन्द्र हमाल संविधान अनुसार मन्त्री बनेकाले यसमा न्यायक्षेत्रलाई जोड्न आवश्यक नभएको बताएका छन्। शनिबार बिहानै शहीदलाई माल्यार्पण गर्न पुगेका पौडेलले यस्तो बताएका हुन् ।

शुक्रबार मन्त्रीको शपथ लिएका पौडेल शनिबार नेकपा माओवादीको कार्यालय पेरिसडाँडामा शहीदलाई माल्यार्पण गर्न पुगेका थिए। त्यसक्रममा मन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले ऐन कानुन र संविधान अनुसार अधिकारको प्रयोग गरि गैर सांसदलाई मन्त्री बनाएको बताए।

प्रधामन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका नातेदार पुराना कांग्रेस नेता गजेन्द्र हमाललाई मन्त्री बनाएपछि चर्को आलोचना भइरहेको छ।

गैर सांसदलाई संविधान अनुसार ६ महिनासम्म मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई संविधानले दिएको भन्दै मन्त्री पौडेलले यसलाई न्यायालयसँग जोडेर हेर्न जरुरी नभएको बताए।

‘गैर सांसदलाई संविधान अनुसार ६ महिनासम्म मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई दिएको छ। ६ महिनाभित्र सांसद नभए त्यो पद जान्छ,’ उनले भने, ‘त्यसैले कसैसँग जोडेर, खासगरी नेपालको न्यायक्षेत्रसँग जोडेर मिडियाबाट प्रचार गरियो, त्यो ठिक होइन। क्षेत्राधिकार प्रधामन्त्रीको भएकाले कानुन, ऐन र संविधानको पालन गरेर उहाँ अगाडि बढाउनु भएको हो।’

आफूहरु गठबन्धनका कतिपय समस्याहरु हल गर्ने प्रयासमा रहेको उनले बताए। ‘गठबन्धन भन्ने वित्तिकै आन्तरिक समस्याहरु एकले अर्काको बुझ्ने कुरा पनि हुन्छ। तर, फेरि पनि मन्त्रिपरिषद् विस्तार प्रतिगमन नभएर अग्रगामी परिवर्तनको पक्षमा सकेसम्म सामूहिक प्रयत्न गर्ने उद्देश्यसहित गठन भएको सरकार हो।’ मन्त्री पौडेलले भने।

छोटो समयमा सकेसम्म जनताको पक्षमा काम गर्नुपर्ने उनले बताए।