एक वर्षमा माओवादीलाई पहिलो पार्टी बनाउने देवेन्द्र पौडेलको घोषणा - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

एक वर्षमा माओवादीलाई पहिलो पार्टी बनाउने देवेन्द्र पौडेलको घोषणा



बलेवा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताएका छन् ।

विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर संगठन विस्तारमा लागेको बताए । माओवादी केन्द्रले ल्याएको परिवर्तन र एजेन्डामा अरू पार्टीले रजाईं गरेको आरोप लगाउँदै पौडेलले माओवादीभित्र नयाँ जागरण आएको बताए ।

“नेकपा फुटाउनु बाध्यता थियो, मलाई त ठिकै भएछ जस्तो लागेको छ,” पौडेलले भने, “अहिले हेर्नुहोस् त हाम्रा साथीहरू देखिन थाले, संगठित हुन थाले ।”

समावेशी राज्य व्यवस्था पार्टीको एजेन्डा भए पनि पछिल्लो समय माओवादी सकियो भन्नेले नै त्यो एजेन्डा आफ्नो भएको सस्तो प्रचार गर्ने गरेको उनको आरोप थियो ।

माओवादी केन्द्र जैमिनी नगर कमिटीको पहिलो अधिवेशनको शनिबार कुश्मीशेरामा उद्घटन गर्दै पौडेलले पार्टीमा नयाँ जागरण आएको बताए । विचार मिल्नेसँग एकताको सम्भावना कायम रहेको भन्दै पौडेलले त्यसका लागि माओवादी केन्द्रले नेतृत्व गर्ने बताए ।

देशमा आउने हरेक संकटको समाधान माओवादी केन्द्रकै नेतृत्व र अध्यक्ष प्रचण्डको भूमिकाले समाधान हुने गरेका उदाहरण दिँदै पौडेलले शिक्षा क्षेत्रको विकास र परिवर्तनका लागि सधैँ काम गर्ने बताए । रासस