तीन नेताको बैठक: देउवाले निकाले एमसीसीलाई पठाएको पत्रको कुरा - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

तीन नेताको बैठक: देउवाले निकाले एमसीसीलाई पठाएको पत्रको कुरा



काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी मुख्यालयलाई पठाएको पत्रबारे कुरा उठाएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पत्रबारे कुरा उठाएका थिए ।

बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन नेताबीचको छलफलमा देउवाले एमसीसीलाई पठाएको संयुक्त पत्र अनुसार नै एमसीसीलाई अगाडी बढाउनु पर्ने बताएका छन् । स्रोतका अनुसार सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा देउवाले प्रचण्ड र नेपाललाई दवाव दिएका थिए।

केही दिनअघि प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मात्र छलफल गरेका प्रधानमन्त्री देउवाले आज प्रचण्ड र नेपालसँग भेटवार्ता गरेका हुन् । छलफलका क्रममा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने र कम्तीमा चुनाव अघिसम्म यो विषय अघि नबढाउन आग्रह गरेका थिए।

तर प्रधानमन्त्री देउवाले आफूहरूले पत्रमा गरेको प्रतिबद्धताअनुसार एमसीसी अनुमोदन गराउनुपर्ने जिकिर गरेको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी मुख्यालयमा संयुक्त पत्र पठाई यही फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी अनुमोदन गराउने प्रतिबद्धता जनाएका छन्।

हालै उक्त पत्र सार्वजनिक भएपछि प्रचण्डको चर्को आलोचना भैरहेको छ । तर प्रचण्डले भने रणनैतिक रूपमा एमसीसीलाई पछाडी धकेल्न उक्त पत्र पठाएको बताउँदै आएका छन् ।