देउवाले किन बोलाए कांग्रेस पदाधिकारी बैठक ?
काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । पार्टीको १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेसमा महाधिवेशन केन्द्रित क्रियाकलापहरू सुरू भएका छन् ।
यसै सन्दर्भमा छलफल गर्न आइतबार दिउँसो २ बजे काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको बताइएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको बताएका छन् ।
पार्टीको सिस्टममा इन्ट्री भएका ८ लाख बढी क्रियाशीलको नाम सार्वजनिक गरेको थियो । त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो । ४२ जिल्लाबाट ठूलो संख्यामा उजुरी आएको छ । अन्य जिल्लाबाट पनि केहीको संख्यामा उजुरी आएको छ ।
क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठवटै निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री नै गरेका छैनन् भने धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गरिएको छैन ।
बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ भने काभ्रेको एउटा निर्वाचन क्षेत्रको नाम पनि सार्वजनिक गरिएको छैन । बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुराको नाम पनि सार्वजनिक गरिएको छैन ।
छानबिन समितिले क्रियाशील सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई असार १२ गतेसम्मको समय दिएको छ । त्यो समय आज सकिएको छ । तर सबै ठाउँबाट क्रियाशील सदस्यता इन्ट्री हुन सकेको छैन ।
क्रियाशील सदस्यतामाथिको उजुरी र इन्ट्री हुन बाँकी क्षेत्र तथा जिल्लाबारे सहमति कायम गरेर अगाडि बढ्न पदाधिकारी तहमा छलफल गर्न लागिएको बुझिएको छ ।
क्रियाशील सदस्यता काम समयमा सम्पन्न गर्न नसकिँदा भदौ १६ १९ गतेका लागि निर्धारण गरेको महाधिवेशन पनि सम्पन्न गर्न सकिन्छ सकिँदैन भन्नेमा काँग्रेसभित्र चिन्ता छ ।
त्यसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नवप्रवेशीका नाममा क्रियाशील सदस्यतामा संस्थापन पक्षले मनपरी गरिरहेको आरोप लगाएको छ ।