महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहिबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ ।

आजको सर्वदलीय बैठक र संसद बैठकलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बिहिबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको पत्र पढेर सुनाउने र प्रधानमन्त्री देउवाले महालेखा परिक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

देउवाले बिहिबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेपछि विभिन्न अड्कल गरिएको छ । एमालेले प्रतिनिधिसभाको बैठक अन्त्य गरेर सरकारले आफू अनुकूलको निर्णय गर्ने आशंका गर्दै आएको सन्दर्भमा आजका तीन वटा बैठकलाई अर्थपूर्ण ठानिएको छ ।

सर्वदलीय बैठक र संसद बैठकमा एमालेको रवैयालाई हेरेर दिउँसोको क्याबिनेटले केही राजनीतिक निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।