प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भने: ओलीजीलाई फकाईदिनुस् - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भने: ओलीजीलाई फकाईदिनुस्



काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार बेलुकी शितलनिवास पुगेका थिए ।

भेटमा देउवाले खासगरी संसद अवरुद्ध गरिरहेको दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाउन आग्रह गरेका थिए । ‘प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई ओलीजीलाई तपाईंले मनाइदिनुपर्यो भन्ने प्रस्ताव गर्नुभएको छ, स्रोतले भन्यो ।’

शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । ‘यो नियमित भेटघाट हो, त्यस्तो खास केही छैन,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले भने, ‘धेरै संवैधानिक प्रबन्धहरू नै छन्, त्यहीअनुसार प्रधानमन्त्रीज्यूसँग भेटवार्ता भएको हो ।’

भेटमा देउवाले पछिल्ला राजनीतिक घटनाक्रम, कोरोना भाइरस रोकथाम, समसामयिक परिस्थितिबारे भण्डारीसँग छलफल गरेका छन् । स्रोतका अनुसार देउवाले राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभामा प्रतिपक्षी नेकपा एमालेले गरिरहेको अवरोध खुलाउने विषयमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा अचानक भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमै सक्रिय बनेका हुन् । बिहीबार बिहान बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दलका नेताहरूले प्रधानमन्त्री देउवालाई संसद्मा‌ जारी अवरोध खुलाउने विषयमा पहल लिन आग्रह गरेका थिए ।

संयन्त्रका संयोजक रामचन्द्र पौडेलले बुधबारमात्रै एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए ।