गठबन्धन तोडेर बैसाखमै संसदीय चुनाव गराउने देउवाको तयारी - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

गठबन्धन तोडेर बैसाखमै संसदीय चुनाव गराउने देउवाको तयारी



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको तयारीमा लागेको चर्चा चलिरहेका बेला पाँच दलीय गठबन्धन तोड्ने तयारीमा लागेको बुझिएको छ ।

एमालेका अध्यक्ष केपे शर्मा ओलीसँग निकटता बढिरहेको र नयाँ सहमति भएको चर्चाबीच गठबन्धन तोडेर बैसाखमा चुनाव गराउने तयारीमा प्रधानमन्त्री देउवा लागेको बुझिएको छ । एकातिर अमेरिकी सहयोग सम्झौता (एमसीसी) को कारण पाँच दलीय गठबन्धनमा खटपट सुरु भएको समाचार सार्वजनिक भैरहेका छन् भने अर्कातिर कांग्रेसभित्रै गठबन्धन गर्न नहुने आवाज चर्किन थालेको छ ।

प्रधानमन्त्री देउवाले आफू निकट केहि नेताहरूलाई चुनावको तयारी थाल्नेबारे चर्चा गरेका थिए । प्रधानमन्त्री देउवाले पार्टीभित्रका आफूनिकट नेताहरुसँग गठबन्धन तोड्नेबारे समेत छलफल गरेको स्रोतको दाबी छ ।

कांग्रेसका एक नेताकाअनुसार एमसीसीका कारण गठबन्धन लामो समयसम्म जान नसक्ने निश्कर्षमा प्रधानमन्त्री देउवा स्वयम पुगेका छन् । प्रधानमन्त्री देउवाले बैशाखमा स्थानीय तहको निर्वाचनको तयारी पनि गरिरहेका छन् ।

तर, स्थानीय तहको निर्वाचनअघि नै प्रधानमन्त्री देउवाले संसद्को निर्वाचन गराउन खोजेको बुझिएको छ । उनले अब संसद्को निर्वाचनको तयारीमा जुट्नसमेत पार्टीका नेताहरुलाई भनिसकेका छन् । एमसीसी पास गराउनको लागि सत्तारुढ दलभित्रै एकरुपता नभएकोले प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर जाने निश्कर्ष निकालेका हुन् ।

तर, सत्तारुढ दलका नेताहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालले भने पछिल्लो सार्वजनिक कार्यक्रममा एमसीसीकै कारण गठबन्धन नटुट्ने र आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउँदै आएका छन् ।
कांग्रेसका शीर्ष नेताहरुले अबको निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने बरु एक्लै लड्ने बताउन थालेका छन् ।