असारमा महाधिवेशन गर्ने देउवाको तयारी - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

असारमा महाधिवेशन गर्ने देउवाको तयारी



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले हुने भन्नेमा कांग्रेस आफैं अन्योलमा छ ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले पछिल्लो समय महाधिवेशनबारे के गर्ने भन्ने केही छलफल नै नभएको बताए । ‘अहिले त केही कुरा भएको छैन र यसै भन्न सकिने अवस्था पनि छैन, मिटिङ स्थगित भएको छ, पछि छलफल होला,’ महतले राजधानीसँग भने ।

कांग्रेसले महाधिवेशनबारे छलफल गर्न भन्दै पछिल्लो पटक २५ असोजका लागि बोलाएको केन्द्रीय समिति बैठक केन्द्रीय सदस्यहरूमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित गरिसकेको छ । अर्को बैठक कहिले बस्ने भन्ने बारे कुनै निर्णय भइसकेको छैन ।

‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ, अनौपचारिक छलफलमा जेठ अन्तिम वा असार पहिलो साता गर्ने भन्नेमा सभापतिको संकेत आएको छ,’ सभापति देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भनेको राजधानीले लेखेको छ ।

कांग्रेसले पछिल्लो पटक २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।