गृहजिल्लामा देउवाको हैकम - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

गृहजिल्लामा देउवाको हैकम



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा हैकम देखाउँदै वडा अधिवेशन गराएका छन्। शीर्ष नेता र जिल्ला पार्टी नेतृत्वको फरक मतको समेत बेवास्ता गर्दै उनले अधिव्शन गराएका छन् ।

देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा शेखर कोइराला, डा मिनेन्द्र रिजाल र जीवन परियारले डडेल्धुराको अधिवेशन स्थगित गर्न देउवालाई आग्रह गरेका थिए। त्यतिमात्र होइन कांग्रेसका डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले पनि देउवालाई यहि आग्रह गरेका थिए।

एकातिर कांग्रेस भित्रको लफडा चलिरहेको छ भने अर्कातिर क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । यसैवीच डडेल्धुराका ५२ वडामा शुक्रबार वडा अधिवेशन भइरहेको छ। सत्ता र शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन भइरहेको कांग्रेस डडेल्धुराका सभापति मल्लले बताएक छन्।

वडा अधिवेशन र त्यसक्रममा हुने निर्वाचन निष्पक्ष र धाँधलीरहित नहुनेमा पौडेलपक्षले आशंका व्यक्त गरेको छ। शुक्रबार बिहान मात्रै पौडेलपक्षका नेताहरु बालुवाटार पुगेर देउवालाई भेटेका थिए। पौडेल पक्षका नेताहरुले बिहीबार पनि देउवालाई भेटेका थिए। क्रियाशील सदस्यता विवाद रहेकाले डडेल्धुराको वडा अधिवेशन रोक्न पौडेलपक्षले देउवासँग माग गरेको थियो। त्यसअघि उपसभापति निधिले सभापति देउवालाई पत्र लेखेर डडेल्धुराको वडा अधिवेशन रोक्न माग गरेका थिए।

पार्टी विधान तथा निर्देशिकाका सबै प्रक्रिया पु-याएर जिल्लाबाट पठाइएका नामावली हटाइएको र केन्द्रबाट नाम थपिएको भन्दै डडेल्धुरामा सदस्यताको विवाद निम्तिएको थियो। जिल्ला सभापति मल्लले केन्द्रबाट सिधै अन्य नाम थपिएको बताए। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापतिको जिल्लामा विवादकैबीच एकपक्षीय रुपमा अधिवेशन गरिनु बिडम्बना भएको उनले बताए।