देउवाकै भाषा बोल्न थाले माधव नेपाल - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

देउवाकै भाषा बोल्न थाले माधव नेपाल



नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विरोध गर्ने नेपाली कांग्रेसका नेतालाई एक्लै चुनाव लडेर जित्न चुनौती दिएका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा कांग्रेसभित्र दुई धार देखिएको बताए।

“स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने कुरामा कांग्रेसभित्र प्रष्टसँग दुई धार देखिएको छ,” अध्यक्ष नेपालले भने, “गठबन्धनको विपक्षमा रहेका कांग्रेसका सार्थीहरूलाई एक्लै चुनाव जितेर देखाउन म आग्रह गर्छु।” कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ठ्याक्कै यहि भाषा प्रयोग गरेका थिए । देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकमा यो भाषा प्रयोग गरेका थिए ।

चुनावमा राम्रो मान्छेले पनि हार्ने गरेको विगत रहेको नेपालले स्मरण गरे। एक्लै जित्ने दम्भमा गठबन्धनको विरोध नगर्न आग्रह गर्दै नेपालले भने, “राम्रो मान्छेले पनि चुनाव हारेको इतिहास छ।”

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हराउन पाँच दलीय गठबन्धन तालमेल गरेर जान लागेको उनको भनाइ थियो। ओली देश, लोकतन्त्र र संविधानका निम्ति घाँडो भएको उनको टिप्पणी थियो।

“ओली प्रगति र परिवर्तनका विरोधी शक्ति हुन्,” नेपालले भने, “वामपन्थीको खास्टो ओढेर अधिनायकवादका रूपमा उदय भएका ओलीलाई स्थानीय तहको चुनावबाटै परिवर्तनशील शक्तिले परास्त गर्न जरुरी छ।”