देउवाकै नेतृत्वमा मुख्य कमिटी, विधान महाधिवेशन पनि हुने
काठमाडौँ– कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ। बुढानीलकण्ठस्थित देउवा निवासमा आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले सभापति देउवाको नेतृत्वमा महाधिवेशनको मूल तयारी समिति गठन गरेको हो।
पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सात वटै प्रदेश संसदीय दलका नेताहरु सो मूल तयारी समितिको सदस्य रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकले पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ।
१४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने र त्यसबाट निर्वाचित हुने केन्द्रीय कार्य समितिले पार्टीको नीति र कार्यक्रममा लागि छुट्टै महाधिवेशन गराउने निर्णय गरिएको प्रवक्ता शर्माले बताए।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीले नीतिको अधिवेशन र नेतृत्व चयनको अधिवेशनलाई फरक गर्ने भन्ने विषय प्रस्तावित गरिएको छ। पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी तहमा सर्वसम्मतिले पारित भएको विषय केन्द्रीय समितिले यसलाई पक्कै अनुमोदन गर्नेछ। त्यस बमोजिम नेपाली काँग्रेसको यो १४ औं महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशनको रुपमा लिएर जाने र महाधिवेशनबाट आएको निर्वाचित केन्द्रीय कार्य समितिले पार्टीको नीति र कार्यक्रम पारित गरेर जाने हामीले तय गरेका छौं।’
महाधिवेशन आयोजनाको लागि पैसा व्यवस्थापनका लागि नेता ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति निर्माण भएको छ। त्यस्तै भोजन तथा आवासको सम्बन्धमा सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागत तथा व्यवस्थापनका सम्बन्धमा पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महत, प्रचार प्रसार समितिमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन्।
उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको संयोजकमा काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सभापतिहरुलाई दिइएको छ।
त्यस्तै स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङ र स्वयम् सेवक मूल समितिको संयोजक धनबहादुर मास्के राना रहेका छन्। समितिहरुहमा आवश्यकताअनुसार सदस्यहरु थपिनेछन्।
बैठकले सात वटै प्रदेश अधिवेशनहरु सम्पन्न गर्नका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोेकेको छ।
यसअनुसार प्रदेश १ मा प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ भने अधिवेशन विराटनगरमा आयोजना हुनेछ।
बुढानिलकण्ठस्थित देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक। तस्बिर: सुलभ श्रेष्ठ
प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ र त्यसको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य रमेश रिजाललाई दिइएको छ। बागमती प्रदेशको संयोजक पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह र स्थान हेटौडा तोकिएको छ।
गण्डकी प्रदेशको प्रदेश अधिवेशनका लागि संयोजकमा पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र स्थान पोखरा तोकिएको छ। लुम्विनी प्रदेशको संयोजक बालकृष्ण खाँण र स्थान बुटवल, कर्णाली प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि केन्द्रीय सदस्य जीवनबहादर शाही संयोजक र स्थान सुर्खेत तोकिएको छ।
सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको र स्थान धनगढी तय गर्ने काम पनि पार्टी केन्द्रीय कार्य समितिको बैठकले गरेको प्रवक्ता शर्माले बताए।
तोकिएका संयोजकहरुले प्रदेश अधिवेशनको अध्यक्षता गर्ने र सो अधिवेशनहरुमा सम्बन्धित प्रदेशका केन्द्रिय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभाका संसदीय दलका नेता र प्रदेश सभाका सदस्यहरु,
जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु, संयोजक र उपसंयोजकहरु, नगरपालिकाका प्रमुख र उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु जो नेपाली कांग्रेसबाट निर्वाचित सहभागी हुनेछन्।
केन्द्रीय सदस्य डिला संग्रौलाका अनुसार बैठक महाविधेशन कार्यतालिकालाई पनि अनुमोदन गरेको छ। कांग्रेसले १४औँ महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौँमा गर्दैछ। प्रदेश तहको अधिवेशन मंसिर १६ र १७ गते हुने तालिका छ।