यस्तो बन्दैछ देउवाको कार्यसम्पादन टिम, आजै गठनको तयारी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

यस्तो बन्दैछ देउवाको कार्यसम्पादन टिम, आजै गठनको तयारी



काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन्। महाधिवेशन सकिएको दुई महिनालगत्तै देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन्।

कांग्रेस विधानको दफा २३ मा कार्यसम्पादन समिति गठन गर्नुपर्ने व्यवस्था छ। कार्यसम्पादन गठन गर्ने उद्देश्यले सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बोलाएका छन्।

कार्यसम्पादन समिति गठनका लागि सभापतिले पेश गरेको प्रस्ताव केन्द्रीय समितिबाट बहुमतले अनुमोदन हुनुपर्ने वैधानिक व्यवस्था छ।

केन्द्रीय कार्यसमितिको सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री कार्यसम्पादन समितिका पदेन सदस्य हुन्छन्। यसका साथै संसदीय दलका नेता र पार्टी प्रवक्ता पनि पदेन सदस्य हुने विधानमा उल्लेख छ।

संसदीय दलका नेता देउवा आफैं छन भने कोषाध्यक्ष र प्रवक्ता मनोनयन हुन बाँकी छ।

त्यसैगरी केन्द्रीय सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तका आधारमा सभापतिले ३१ जनाको नाम प्रस्ताव गर्नुपर्ने हुन्छ। १३ पदाधिकारी, मानेनित हुन बाँकी कोषाध्यक्ष र प्रवक्ता तथा संसदीय दलका नेता गरी ४७ सदस्यीय कार्यसम्पादन समिति हुने भए पनि संसदीय दलका नेता सभापति देउवा आफैं भएकाले ४६ सदस्यीय हुनेछ।

शुक्रबार केन्द्रीय समितिको बैठकबाट देउवाले ४० सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको एक नेताले बताए। कार्यसम्पादन समिति सदस्यका लागि देउवाले २७ जनाको नाम प्रस्ताव गर्ने तयारी गरेका छन्।

पदाधिकारी भएकाले सभापति देउवाका साथै उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विधानअनुसार नै कार्यसम्पादन समितिका पदेन सदस्य हुनेछन्।

त्यसैगरी आठजना सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार पनि पदेन सदस्य रहनेछन्।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजय गच्छदार र प्रकाशमान सिंहलाई कार्यसम्पादन समितिमा समेट्ने तयारी देउवाले गरेका छन्।

पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरू रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापालाई पनि कार्यसम्पादन समितिमा ल्याइने बताइएको छ।

त्यसैगरी केन्द्रीय सदस्यहरू शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, जिपछिरिङ लामा, पद्मनारायण चौधरी, दिलेन्द्र बडु, एनपी साउद, सुजाता कोइराला, नारायण खड्का, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली, जीवनबहादुर शाही, दीपक गिरी र अजकुमार चौरसियाको पनि चर्चा छ।

केन्द्रीय समितिको आकार ठूलो भएपछि कोरोना महामारीका बेला बैठक बस्न गाह्रो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका हुन्।

कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्ने कांग्रेसको विधानमा व्यवस्था छ। कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदनका लागि केन्द्रीय समितिको बैठकमा पेस गर्नुपर्ने हुन्छ।

त्यसैगरी कार्यसम्पादन समितिले पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्नुका साथै समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषयगत समितिका संयोजकसँग संयुक्त रूपमा छलफल गर्छ।