देउवाले शेखरलाई भने: हिजो पनि तपाईँहरूको कारणले गठबन्धन भत्कियो, आज पनि त्यही गर्ने ? - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

देउवाले शेखरलाई भने: हिजो पनि तपाईँहरूको कारणले गठबन्धन भत्कियो, आज पनि त्यही गर्ने ?



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाबीच सवालजवाफ भएको छ । शेखर कोइरालाले गठबन्धन किन, केका लागि गर्ने भन्दै प्रश्न उठाएर ‘पिन्च’ भए पछि देउवा सवाल जवाफमा उत्रिएका हुन् ।

स्रोतका अनुसार नेता शेखर कोइरालाले चुनावी गठबन्धन किन र केका लागि भनेर प्रश्न उठाउँदै सभापतिले कार्यकर्ताको मनोवल गिराउने काम गरेको आरोप लगाएका थिए । “किन गर्ने र केका लागि गठबन्धन गर्ने ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नुहुन्छ ?,” प्रश्न गर्दै शेखरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “सभापतिले नै एमाले बलियो छ भनेपछि कार्यकर्ताको मनोबल कसरी माथि उठाउन सकिन्छ ?” उनले अहिले सभापतिको प्रस्तुति कांग्रेसको नीति र सिद्धान्तलाई नै तिलाञ्जली दिएर स्वार्थमा लागेको देखिएको भन्दै प्रश्न उठाएका थिए ।

“कांग्रेसको नीति र सिद्धान्तलाई तिलान्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?” शेखरको प्रश्न थियो ।

स्रोतका अनुसार शेखर बोलेलगत्तै गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणले समय लिएका थिए । उनले गठबन्धन सरकार बन्ने बेलामा नै तीनवटै तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको भन्दै कांग्रेसलाई सहमतिबाट च्युत गराउने प्रयास नगर्न आग्रह गरेका थिए ।

सरकार बन्ने बेलामै तीनै तहको चुनावमा गठबन्धन हुने भनिएको थियो । त्यो सहमति कांग्रेसले तोड्न हुँदैन,” खाँणको भनाइ उदृत गर्दै स्रोतले भन्यो, “तर, गठबन्धनका नाममा आफ्नो संगठन अलग–थलग पार्न हुँदैन ।”

खाँणले बोलिकसकेपछि सभापति देउवा आफैं शेखरलाई जवाफ दिन उत्रिए । “म कांग्रेसको सिद्धान्त कसरी तोड्छु ?”, देउवाले शेखरलाई प्रश्न गर्दै भने, “माओवादीलाई मैले ल्याएको हो ? हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नुभयो ?”

शेखरतर्फ औंलो ठड्याउँदै देउवाले अगाडि थपे, “अहिले माओवादीलाई बोक्यो भन्ने ? हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नु भएको हैन ? म पनि बालबाल जितेको हुँ नि ।”

उनले शेखरलाई हिजो पनि यसरी नै बोलेका कारण गठबन्धन नभएको आरोप लगाए । “हिजो पनि तपाईंहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइन ?,” देउवाले भने, “कांग्रेसको नीति सिद्धान्तका बारेमा मलाई नसिकाउनुस् । म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ ।”