देउवालाई निर्वाचन आयोगको विश्वास लाग्न छाड्यो
काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको विभाजनका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीले शंका पैदा गरेको बताएका छन्। सोमबार भैरहवामा कांग्रेसले आयोजना गरेको विराेधसभालाई सम्बाेधन गर्दै उनले अदालतले भन्दा पनि निर्वाचन आयोगबाट बदमासी हुन सक्ने बताएका हुन्।
‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ? अदालतको निर्णय पर्खने काम आयोगको होइन,’ देउवाले सभालाई सम्बोधन गर्दै भने, ‘आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भनेर चुनावी कार्यक्रम सार्वजनिक गर्नुपर्छ ।’
आयोगले चुनावबारे कुनै तयारी नगरेको र नबोलेको भन्दै देउवाले आपत्ति जनाएका हुन् ।
‘संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ। तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन ? जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ। तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन। बदमासी गर्न सक्छ आयोगले । किन बोल्दैन निर्वाचन आयोग ? शंका गर्नुपर्ने बेला भएको छ,’ देउवाले भने।
सभापति देउवाले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको झगडाले कांग्रेसमा समस्या आउन नहुनेमा सचेत गराए। ‘अहिले ओली र प्रचण्डबीच कुर्सीका लागि झगडा भइरहेको छ। कांग्रेसकै नेताहरू कोही ओली र कोही प्रचण्ड ठीक भनिरहेका छन्, उनीहरूको झगडाले हाम्रो पार्टीमै समस्या आइसकेको छ। हामी कतैतिर लाग्ने काम छैन,’ देउवाले भने।
ओली र प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको उनले बताए। ‘प्रचण्डले प्रजातन्त्र मान्छु भने। गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई भारतबाट ल्याएर नेपालमा ल ठीक छ भनेर संविधानसभाको चुनाव गराइयो। तर, प्रचण्ड र ओली राजाभन्दा पनि ठूला राजा हुन थाले। उनीहरू कुर्सीका लागि झगडा भयो। यो झगडामा हाम्रो कुनै हात छैन,’ उनले भने।
सूर्य एउटै भएकोले दुई समूहमा विभाजित नेकपालाई दिन नसकिने भएकाले सूर्यबाहेक अरू चिन्ह आयोगले दिएर निर्वाचन आयोगले विवाद समाधान गर्न सक्ने देउवाले सुझाए। ‘नेकपाभित्र चुनाव चिन्हमा झगडा छ। निर्वाचन आयोगले किन चुनाव चिन्ह दिइरहेको छैन? ओलीले पाउने भए ओलीलाई नभए प्रचण्डलाई सूर्य चिन्ह दिए भइहाल्यो,’ उनले भने, ‘कसलाई सूर्य चिन्ह दिने भन्ने निर्णय अहिलेसम्म गर्न नसक्ने? सबैभन्दा बेस त चुनाव चिन्ह अरू नै दिए भइहाल्यो।’
प्रतिनिधिसभा विघटनबारे अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले यसै गर भन्न नमिल्ने उनले बताए। र, कांग्रेस नेता-कार्यकर्तालाई अदालतको निर्णय पर्खिन आग्रह गरे। ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ,’ उनले भने।
यसैगरी, सप्तरी राजविराजमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीले संविधानलाई नै खतरामा पार्न खोजेको बताए।
‘संसद् विघटन गरेर ओलीले संविधानमाथि प्रहार गर्नुभएको छ। संविधान जोगाउन दुई विकल्प मात्रै बाँकी छन्,’ निधिले भने, ‘जनताले चुनावमा मत हालेर संसद्को गठन गर्न सक्छन्। त्यसभन्दा अगाडि अदालतले पुनर्स्थापना पनि गर्न सक्छ।’ प्रतिनिधिसभा पुनर्स्थापना भए ठीक हुने, तर चुनाव भए पनि कांग्रेस पछाडि नहट्ने उनले बताए।