देउवा भन्छन्: एमसीसी संसदमा लैजाने ‘इश्यु’ नै थिएन, ओलीले घुसाए, मलाई फसाए
काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफूलाई लागेको कुरा दाँयाबाँया नसोची सिधै बोलिहाल्छन् । धेरै भूमिका नबाँधी ठाडै विषयमा प्रवेश गर्ने र भन्नुपर्ने कुरा फ्याट्ट भनिहाल्ने देउवाको शैली हो । पछिल्लो समय एमसीसी र पाँचदलीय गठबन्धनमा उत्पन्न विवादबारे हुने छलफलहरुमा पनि देउवाको प्रष्ट भनाइ आउने गरेको छ – एमसीसी पेश गरौँ, गठबन्धन पनि कायम राखौँ ।
एमसीसीको संसदीय अनुमोदनलाई लिएर गठबन्धनभित्रको विवादले राजनीतिक ध्रुवीकरण बढेका बेला प्रधानमन्त्री देउवाले बिहिबार विभिन्न पक्ष र नेताहरुसँग छलफल गरे । बिहिबार नै क्याबिनेट बैठक पनि डाके’ । क्याबिनेटमा राजनीतिक विषयमा केही नबोलेका देउवाले लगत्तै केही मन्त्रीहरुलाई बोलाएर छलफल गरे । मन्त्रीहरुसँगको कुराकानीमा पनि सदाझैँ उनले प्रष्टसँग एक वाक्यमा भने- एमसीसी संसदमा इन्डोर्स गरेर जाऊँ !’
एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी ओलीका पालामा एमसीसी गिजोलिएको र त्यसलाई पार लगाउन अहिले सकस परिरहेको पनि बताएका थिए । ‘मलाई त थाहा पनि थिएन, एमसीसी संसदमा लैजानुपर्ने बनाइएको रहेछ । म त यो होल प्रोसेसमा आउटअफ रिङ्गमा छु । क-कसले के-के गरे, अन्तिममा मेरो टाउकामा आयो’, सहभागी एक मन्त्रीले देउवाको कुरा सुनाउँदै भने ‘यो पार्लियामेन्टमा आउने इश्यु नै थिएन, ओलीले घुसाए । अहिले मलाई अप्ठेरो पारेका छन् ।’
एमसीसीलाई आन्तरिक राजनीतिको दाउपेचको मामला बनाएकोमा प्रधानमन्त्री देउवा गठबन्धनका अन्य दल र नेतासंग पनि सन्तुष्ट नदेखिएको ती मन्त्रीले बताए । अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा संवेदनशील हुनुपर्नेमा उनको जोड थियो । कमिटमेन्ट गरिसकेपछि त्यो पूरा गर्नु आफ्नो दायित्व हुने भन्दै देउवाले त्यसैकारण अहिले आफू अप्ठेरोमा परेको गुनासो मन्त्रीहरुलाई सुनाए । ‘पास-फेल सदनको कुरा भयो, तर डेमोक्रेटिक प्रोसेसमा लैजानुपर्छ भन्नेमा उनी प्रष्ट छन्’, देउवाको कुरा सुनाउँदै मन्त्रीले भने ।
बताइए अनुसार कुराकानीका क्रममा देउवाले प्रचण्डको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । ‘पहिले नै पास गर्न मन थिएन भने पाँच महिनाको समय किन मागेको ? म पास गर्दिन भनेर त्यतिबेलै पोजिसन क्लियर गरेको भए हुन्थ्यो । अहिले आएर अर्को कुरा गर्नु उहाँको ताल ठीक भएन’ देउवाको भनाइ उद्धृत गर्दै सहभागी मन्त्रीले भने ।
तथापि, देउवाले गठबन्धनप्रति आफू पूरै प्रतिवध्द रहेको बताएका छन् । ‘म गठबन्धनप्रति कमिटेड छु, केपी ओलीले यो सरकारलाई समर्थन गर्दैनन्, म उनको सरकारमा जाने कुरा पनि भएन । उनीसंग गठबन्धन हुँदैन । तर,एमसीसी पास गर्न पर्यो’, देउवाको भनाइ थियो । तर, छलफलका क्रममा प्रधानमन्त्रीले मन्त्रीहरुलाई कुनै दबाब नदिएको उनले बताए ।
कुराकानीको अन्त्य गर्दै प्रधानमन्त्रीले भनेका थिए, ‘प्रचण्ड र माधवजीको कुरा उतिबेला पनि भोकल्ली आएको थिएन ठीक छ, तर केपी ओलीले त ल्याएको हो नि । म ओलीलाई भेट्छु अनि त्यसपछि तपाईंहरुलाई कन्फ्युजन गर्दिन ।’ त्यत्ति भनेर निस्किएका देउवा साँझ पत्नीसहित बालकोट पुगेका थिए ।
जनआस्थाबाट साभार गरिएको सामाग्री