महाधिवेशनमा रामचन्द्र पौडेलले देउवालाई नै सहयोग गरेको रिपोर्ट भेटियो - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

महाधिवेशनमा रामचन्द्र पौडेलले देउवालाई नै सहयोग गरेको रिपोर्ट भेटियो



काठमाडौँ – तटस्थ बस्छु भनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई नै सहयोग गरेको रिपोर्ट फेर्ला परेको छ । मंगलबार बसेको देउवा इतर समूहको बैठकमा नेताहरूले यस्तो रिपोर्ट बुझाएका हुन् ।

नेता अर्जुननरसिंह केसीले वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको १४ औँ महाधिवेशनमा तटस्थ नबसेको रिपोर्ट अन्य नेताहरुले गरेको पनि सुनाएका थिए । ‘रामचन्द्र पौडेल महाधिवेशनमा तटस्थ बसेकै हो भनेर म भन्दै आएको थिएँ । तर, अहिले भरखर साथीहरुको रिपोर्ट शेरबहादुर देउवालाई नै सहयोग गरेको भन्ने छ’ उनले भने ।

यस्तै बैठकमा नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टीको कामकारबाही अघि बढाएको भन्दै आफूनिकटका नेतासँग छलफल गरेका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको कोइराला समूहको छलफलले सभापति देउवाले केन्द्रीय सदस्य नियुक्ति गर्दा एकलौटी गरेको, राष्ट्रिय सभा सदस्यको टिकट वितरण गर्दा छलफल नगरेको भन्दै आपत्ति जनाएको हो ।

‘आज बैठक भन्दा पनि छलफल भएको हो । सभापतिजीलाई हामी मन, बचन र कर्मले सहयोग गन चाहन्छौँ,’ बैठकपछि नेता अर्जुननरसिंह केसीले भने, ‘निर्वाचनमा उहाँविरुद्ध लड्यौँ, हामी हार्‍यौँ । अब मत विभाजन हुन नदिऔँ भन्ने हाम्रो भनाइ हो । पहिलो चरणमा दोस्रो चरणमा जुन मनोनीत गर्नु भयो त्यो एकलौटी भयो भन्ने हाम्रो निष्कर्ष हो । राष्ट्रिय सभाको सन्दर्भमा अगाडि नै छलफल हुनुपर्ने हो भएन ।’

देउवाले गरेका निर्णयले शशंकित भएको केसीको भनाइ छ । ‘ यस्ता कुरा गम्भीर ढंगले एकलौटी रुपमा जान लागेकोले हामी शशंकित छौँ,’ उनले भने, ‘हामी स्थानीय निर्वाचन, संघीय निर्वाचन र पार्टीमा देखिएका चुनौती सामना गर्न हामी सहकार्य गर्न चाहन्छौँ । सहमतिपूर्ण यात्रामा जान चाहन्छौँ ।’

उनले राष्ट्रिय सभाको टिकट वितरण गर्ने प्रक्रियामा पनि आफूहरुको सहमति नरहेको बताए । ‘राष्ट्रिय सभाको टिकट बाँड्ने प्रक्रियाप्रति सन्तुष्ट छैनौँ,’ उनले भने, ‘भागबन्डा अंश बन्डा कुरा होइन । राजनीति भन्या साझेदारी हो । पहिलो चरण, दोस्रो चरणको नियुक्ति हेर्दा एक्लै जाने भन्ने देखिएको छ । यो राम्रो संकेत होइन ।’

आजको छलफलमा केसीसँगै उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य बलबहादुर केसी सहभागी थिए ।