उद्योग र व्यवसायका लागि राहत प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको घोषणा - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

उद्योग र व्यवसायका लागि राहत प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको घोषणा



काठमाडौं– कोरोना महामारीका कारण थलिएका उद्योग–व्यवसायलाई राहत प्याकेज ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेका छन् । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने सोचमा आफू रहेको बताए।

उनले उद्योग–व्यवसायलाई बचाउनको लागि पनि राहत ‘प्याकेज’ ल्याइनै पर्ने भएको बताए। प्रधानमन्त्री देउवाले महामारीमा पहिले जनताको ज्यान जोगाउने कुरा मुख्य भएको भन्दै त्यसपछि राहतको प्याकेज ल्याउने बताए ।

सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए।

‘विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो’, उनले भने, ‘महामारीबाट पार पाउनु चुनौतीपूर्ण छ, हाम्रो पहिलो प्राथमिकता खोपको व्यवस्था नै हो।’

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोभिडको महामारीले गराएको विचार व्यक्त गर्दै परिसङ्घको ‘मेक इन नेपाल’ – स्वदेशी उत्पादन प्रवद्र्धन अभियानको सराहना गरे। उनले महामारीका कारण थलिएको अर्थतन्त्रलाई उजिल्याउन निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने दृढता व्यक्त गरे।