देउवा र प्रचण्डबीच छलफल: एमसीसी र गठबन्धन तलमाथि नहुने - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

देउवा र प्रचण्डबीच छलफल: एमसीसी र गठबन्धन तलमाथि नहुने



काठमाडौँ- अमेरिकन मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयमा सत्ता गठबन्धनमा चर्काचर्की भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार गएका थिए । दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् । एमसीसीको विषयमा गठबन्धनमा विवाद नभएको र यसले गठबन्धन तलमाथि नहुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच स्थानीय तहको निर्वाचनको मिति तथा एमसीसीलगायतका विषयमा छलफल भएको बताइएको छ । सत्ता गठबन्धनलाई एमसीसीको कारण कुनै खतरा नरहेको दुवै पक्षले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान देउवा र प्रचण्डबीच एमसीसी अनुमोदन र चुनावको मितिबारे छलफल भएको हो । गठबन्धनमा स्थानीय तहको चुनाव जेठमा गर्ने सहमति भएसँगै एमसीसीको विवाद बल्झेको छ । जेठमा चुनाव गर्ने गरी मिति घोषणा गर्न गठबन्धनले सुझाव दिए पनि सरकारले मिति घोषणा गर्न सकेको छैन ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव मिति घोषणा सँगसँगै एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका छन् । शनिवार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा देउवाले एमसीसी अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।

यसअघि प्रधानमन्त्री देउवा, प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एमसीसी पारित गर्ने सहमति भइसकेको बताइएको छ ।