देउवाले पौडेललाई किनेपछि कार्यकर्ता अन्योलमा - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

देउवाले पौडेललाई किनेपछि कार्यकर्ता अन्योलमा



काठमाडौं । २०७५ फागुन २५ गते पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दी पुगेर तातोपानीमा पौडी खेलेपछि पौडेलनिकट कांग्रेसका नेता तथा कार्यकर्ता आफ्नै शरीरमा चिसो पानी खन्याउने अवस्थामा पुगेका छन् । सभापति देउवालाई एक्ल्याउने रणनीति कांग्रेसका संस्थापना इतर पक्षले बनाइरहँदा वरिष्ठ नेता पौडेल भने सभापति देउवासँग तातोपानीमा पौडी खेलेर आफूहरूका बीचमा एकता भएको सन्देश दिएपछि पौडेलनिकट कार्यकर्ताहरू अन्योलमा पर्न गएका हुन् ।

नेपाली कांग्रेसका ५६ जना जिल्ला सभापतिहरूले २०७५ पुष ८ गते सम्पन्न भएको महासमिति बैठकले गरेको निर्णायानुसार पार्टीविधान संशोधन नभए विशेष महाधिवेशन बोलाउने चेतावनी दिँदै २०७५ फागुन २१ गते संयुक्त वक्तव्य जारी गरेका थिए । ५६ जना जिल्ला सभापतिहरूले सभापति देउवालाई चेतावनी दिँदै संयुक्त वक्तव्य जारी गरेको भोलिपल्टै चाक्सीबारीस्थित प्रकाशमान सिंह निवासमा भेला भएका कांग्रेसका शीर्ष नेताहरूले सभापति देउवा सहमतिको उपेक्षा गर्दै बहुमतको आधारमा अगाडि बढ्न थाले केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गर्ने निर्णयमा पुगेका थिए ।

पार्टीका दुइतिहाई सभापतिहरूले महाधिवेशनले गरेको निर्णयानुसार विधान संशोधन नगरे विशेष महाधिवेशन बोलाउन दिएको चेतावनी तथा संस्थापना इतर पक्षले बहुमतको आधारमा केन्द्रीय समितिबाट निर्णय गर्न सभापति देउवा अगाडि बढे केन्द्रीय समिति बैठक बहिष्कार गर्ने भनेर गरेको निर्णयलाई समेत उपेक्षा गर्दै सभापति देउवा बहुमतको आधारमा आफ्ना एजेण्डा अनुमोदन गराएर अगाडि बढ्ने निष्कर्षमा पुगेका छन् भने सभापति देउवाले ५६ जना जिल्ला सभापतिहरूसँगै आफूसँग असन्तुष्ट रहेका शीर्ष नेताहरूलाई समेत पार्टीको विशेष महाधिवेशन बोलाउन चुनौती दिएका छन् ।

सभापति देउवा आफू इतरका नेताहरूलाई पेलेरै २०७५ चैत ४ गते बस्ने केन्द्रीय समितिको बैठकबाट भीष्मराज आङ्दम्बे सभापति रहेको पाँच सदस्यीय अनुशासन समिति गठन गर्न गइराखेका छन् । आङ्दम्बे सभापति रहेको अनुशासन समिति गठन गर्न असन्तुष्ट पक्षले आपत्ति जनाए त्यसलाई बेवास्ता गर्दै सभापति देउवा बहुमतबाट निर्णय गराएर आङ्दम्बेको सभापतित्वमा अनुशासन समिति गठन गरेरै छाड्ने निष्कर्षमा पुगेका छन् ।

पार्टी अल्पमतको बन्दी बन्न नसक्ने भन्दै सभापति देउवाले बहुमतको दुरुपयोग गर्दै पेलेरै अनुशासन समिति गठन गर्न लागेका हुन् । सभापति देउवाले बहुमतको बलमा अनुशासन समिति गठन गर्नेलगायतका अन्य निर्णय गर्ने कसरत गरेको अवस्थामा संस्थापनाइतर पक्षका केन्द्रीय सदस्यहरूले भने बैठक बहिष्कार गर्ने निर्णय २०७५ फागुन २२ गते प्रकाशमान सिंह निवासमा बसेको असन्तुष्टहरूको बैठकले गरेको छ ।

तर, २०७५ फागुन २५ गते शनिबार असन्तुष्ट पक्षको नेतृत्व गरिराखेका सामचन्द्र पौडेल म्याग्दीमा पुगेर सभापति देउवासँगै तातोपानीमा पौडी खेलेपछि कांग्रेसको असन्तुष्ट पक्षको रणनीतिमा धक्का लाग्न थालेको र आङ्दम्बे पौडेल र सभापति देउवाको सहमतिमा नै अनुशासन समितिको सभापति हुन थालेका छन् ।

कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक कोइरालासँगे केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइराला कांग्रेस नेतृत्वको विरासत कोइराला परिवारमा नै फर्काउने कसरत गर्न थालेपछि वरिष्ठ नेता पौडेलले सभापति देउवासँग घाँटी जोड्न थालेको स्रँेत बताउछ । वरिष्ठ नेता पौडेल सभापति देउवासँग निकट हुनुलाई कांग्रेसका असन्तुष्ट पक्षले राजनीतिक घाटाको रुपमा होइन फाइदाको रुपमा लिएको छ ।

किनभने नेता पौडेलको पार्टी संगठनमा बलियो प्रभाव नभएको र कोइराला परिवारको विरासतको कारणले मात्र यो राजनीतिक हैसियत कायम भएको हो भन्दै उनी सभापति देउवानिकट हुँदा पौडेलसंग लामोसमयदेखि रहँदै आएका नेता, कार्यकर्ताहरू समेत कोइराला परिवारमा हातेमालो गरेर अगाडि बढ्न सक्ने भएकाले कोइराला परिवारलाई राजनीतिक घाटा होइन फाइदा नै हुने विश्लेषण नेपाली कांग्रेको बुद्धिजीवी कित्ताले गरेको छ ।

स्रोत : साँघु