देउवालाई टेलिफोन गरेर ओलीले राखे एमाले कांग्रेस सहकार्यको प्रस्ताव - Himal Post Himal Post
  • १४ पुष २०८१, आईतवार
  •      Sun Dec 29 2024
Logo

देउवालाई टेलिफोन गरेर ओलीले राखे एमाले कांग्रेस सहकार्यको प्रस्ताव



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । कांग्रेस सभापतिमा निर्वाचित भएपछि देउवालाई ओलीले टेलिफोन गरेका थिए ।

ओलीले टेलिफोन गरेर बधाई तथा शुभकामना दिएको बताइएको छ । बुधबार अबेर राति ओलीले देउवालाई कांग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाई दिएको देउवा निकट स्रोतले जनाएको छ ।

टेलिफोन संवाद लामै भएको र ओलीले देउवालाई कांग्रेस र एमाले मिलेर जानुपर्ने प्रस्ताव गरेको स्रोतको दाबी छ । ‘एमाले र कांग्रेस मिलेर अगाडी बढेमात्र देशको भविष्य बदलिने भन्दै दुई शक्ति मिल्नुओअर्ने बेला भयो’ ओलीको भनाई उद्घृत गर्दै स्रोतले बतायो ।

लोकतन्त्र र संविधान रक्षाको लागि कांग्रेस र एमालेबीच राम्रो सम्बन्ध हुनुपर्ने भन्दै ओलीले प्रस्ताव राखेपछि देउवाले सरकारलाई ओलीको सहयोग आवस्यक भएको बताएका थिए । ओलीले कांग्रेसले गलत शक्तिहरूलाई बोकेर हिँडेको भन्दै ओलीले एमाले कांग्रेस मिल्नुपर्ने समय आएको बताएका थिए ।

देउवाले भने सबै मिलेर अगाडी बढ्न सकिने अवस्था भएकाले राष्ट्रिय सहमति बनाउन सकिने बताएका थिए । ओलीले टेलिफोन गरेपछि दुई नेताले केहीबेर आफूहरूलाई कसैले हराउन नसक्ने भन्दै ठट्टा गरेको स्रोतले बताएको छ ।