देउवा निवासमा लामो वार्तापछि ठाकुर र महतो पनि ओलीको विपक्षमा जान तयार - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

देउवा निवासमा लामो वार्तापछि ठाकुर र महतो पनि ओलीको विपक्षमा जान तयार



काठमाडौं- आइतबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले लामो छलफल गरेका छन् ।

राजनीतिक सरगर्मी बढेसँगै देउवासंग छलफल गर्न पुगेका उनीहरुले पौने दुई घण्टा छलफल गरेको बताइएको छ । जसपा स्रोतका अनुसार लामो छलफल गरेर उनीहरू भर्खरै मात्र देउवा निवासबाट फर्किएका छन् ।

आइतबार बिहान पौने नौ बजे नै उनीहरू देउवा निवास पुगेका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिने पक्षमा रहेका ठाकुर र महतो एकाएक देउवालाई भेट्न पुगेपछि अर्थपूर्ण मानिएको छ।

जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीको विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा निरन्तर लागिरहेका थिए । जसपामा भट्टराई र यादवको लाइनमा बहुमत बन्दै गएपछि ठाकुर र महतो रक्षात्मक बनेका थिए ।

ओलीको विपक्षमा जान र आगामी सरकारका बारेमा बुढानिलकण्ठमा लामो छलफल भएको स्रोतको दाबी छ । स्रोतका अनुसार ठाकुर र महतो पनि ओलीको विपक्षमा जान तयार भएका छन् ।