भारी मतले देउवा कांग्रेस सभापतिमा निर्वाचित - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

भारी मतले देउवा कांग्रेस सभापतिमा निर्वाचित



नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले प्रतिस्पर्धी डा. शेखर कोइरालालाई हराउँदै सभापतिमा दोस्रो पटक निर्वाचित भएका हुन् ।

काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन् ।

यसअघि उनी १३ औं महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित भएका थिए ।

कांग्रेस विधानअनुसार हरेक पाँच वर्षमा महाधिवेशन गर्नु पर्ने भए पनि यसपटक कोरोनाभाइरस महामारीका कारण केही महिना ढिला महाधिवेशन गरिएको हो ।

महाधिवेशनमा पहिलो चरणमा देउवा र सभापतिका अन्य प्रत्याशी डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशत मत कटाउन सकेका थिएनन् ।

त्यसैले, मंगलबार दिउँसो भएको मतदानमा पहिलो चरणमा पहिलो र दोस्रो भएका शेरबहादुर देउवा र शेखर कोइराला सभापति पदका लािग उम्मेदवार भएका थिए । पहिलो चरणको भन्दा दोस्रो चरणमा झन्डै डेढ सयभन्दा कम ४ हजार ५ सय ६३ मत खसेको थियो ।

देउवा कांग्रेसमा सभापति हुने सातौँ व्यक्ति हुन् । उनीभन्दा अगाडि कांग्रेसको १२ ओं महाधिवेशनबाट सुशिल कोइराला सभापतिमा निर्वाचित भएका थिए ।

१३ औं र १४ औं महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित भएसँगै अब नेपाली कांग्रेसमा लामो विरासत बोकेको कोइराला परिवार मूल नेतृत्वबाट १० वर्ष अलग हुने निश्चित भएको छ ।

कांग्रेसमा सबैभन्दा लामो विश्वेश्वर प्रसाद कोइराला २९ वर्ष सभापति भएका छन् । त्यस्तै, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समान १४ वर्ष सभापति भएका छन् ।

डडेलधुरामा जन्मिएका कोइराला गत पुसमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद पुनस्र्थापनासँगै परमादेश दिए पछि अहिले प्रधानमन्त्री समेत हुन् ।