निर्मला प्रकरणमा संलग्नलाई तत्काल कारबाही गर्न देउवाको निर्देशन - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

निर्मला प्रकरणमा संलग्नलाई तत्काल कारबाही गर्न देउवाको निर्देशन



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्।

निर्मला पन्तको हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण र प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई बोलाएर हत्याको घटनाको छानबिन गरी दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन्।

‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाइृ बोलाएर अहिलेसम्म भएको अनुसन्धानको जानकारी लिएको छु’, देउवाले भनेका छन्, चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत् देउवाले यसबारे जानकारी दिएका हुन्।

कञ्चनपुरकी निर्मला पन्तको तीन वर्षअघि आजकै दिन बलात्कारपछि हत्या भएको थियो। यो प्रकरणले निकै चर्चा पाए पनि हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन।

बलात्कार र हत्या घटनाको छानबिनका लागि विभिन्न छानबिन समिति बने पनि कुनै पनि समितिले दोषी पत्ता लगाउन सकेको छैन। जसका कारण तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार निकै आलोचित बन्न पुगेको थियो। यसै प्रकरणका कारण तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल पनि आलोचित बन्न पुगेका थिए।