के देउवा साँच्चै निरङ्कुश र घमण्डी नै हुन त ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

के देउवा साँच्चै निरङ्कुश र घमण्डी नै हुन त ?



कर्ण अधिकारी ,नुवाकोट।

नेपालको राजनीतिको आरोह अवरोहमा नेपालकै नम्बर १ कहलिएको पुरानो पार्टी काँग्रेसले २०७४ सालको स्थानीय,प्रदेश र प्रतिनिधि सभा चुनावमा भोगेको कहाली लाग्दो पराजयले काँग्रेसका नेता देखि कार्यकर्तालाई समेत निन्द्रामा झस्काउने गर्दछ।यो नमिठो कहाली लाग्दो हार हुँदा काँग्रेसका अधिकांश नेता कार्यकर्ताले पार्टी सभापति देउवाले नैतिक जिम्मेवारी लिनु पर्दछ भनेर भन्दै आएका छन् भने सभापति देउवा आफूले मात्र यो हारलाई नैतिक जिम्मेवारी लिने पक्षमा छैनन्।यसै कारणलाई मुख्य कारक तत्त्व बनाएर काँग्रेसका वरिष्ठ नेताहरू बिच एक आपसमा पानी बाराबारको स्थितिमा समेत पुगेको छ।यस्तो अवस्था काँग्रेस भित्र हुनु एकदमै दुर्भाग्य पूर्ण कुरा हो।

२०७४ को पराजय सँगसँगै काँग्रेस भित्र गुटको सल्बलाहट एकदमै तातिएर गएको छ।पार्टी भित्र थुप्रै धारहरू सृजित भएका छन्।काँग्रेस भित्र देउवा,पौडेल,कोइराला,सिटौला र सिंह गुटले झनै मौलाउने मौका पाएको छ।काँग्रेस भित्रको आन्तरिक कलह भुसमा आगो सल्किए झैँ सल्किएको छ यसलाई सानो तिनो पानीको फोहराले निभाउन सक्ने अवस्था छैन।काँग्रेसकै नीति विधानमा रहेर कसैले पनि काम गर्न सकेको छैन।जसलाई जे गर्न मन लाग्छ त्यही अनुरूप पार्टी चलाउने प्रयास गर्दै छन्।पार्टी भित्र ब्यथिति कुसंस्कारको दबदबा कायम हुँदै छ।मर्यादा क्रमको कसैलाई ख्याल छैन।नेपाली जनताको मन मस्तिष्कमा बस्न सफल भएको काँग्रेसलाई यो स्थितिमा पुराउने देउवा मात्र नभएर सबै नेताहरू हुन र यिनीहरू सबैले नैतिक जिम्मेवारी लिनु पर्दछ।

काँग्रेस भित्र देउवालाई निरङ्कुशवादी र घमण्डी नेता भनेर चिन्ने चिनाउने प्रयास भई रहँदा केही दिन अगाडी अर्थात् तिहारको लक्ष्मी पूजाको दिन बिहान ९:३० बजे नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरुङ,महामन्त्री म आफै,सह महामन्त्री गणेश गुरुङ र सदस्य नवराज पराजुलीले एक विशेष भेटघाट सभापति देउवासँग गरेका थियौ।हाम्रो साथमा केन्द्रीय सदस्य अर्जुन जोशी साथै गंगाधर पराजुली पनि हुनु हुन्थ्यो।भेटघाटमा जनसम्पर्क समिति मकाउको तर्फबाट मैले सभापति देउवालाई काँग्रेसको विगत,वर्तमान अवस्था,पार्टीले भविष्यमा खेल्नु पर्ने भावी रणनीतिहरू र विशेषतः काँग्रेस भित्रको गुटबन्दी र नेपाली जनसम्पर्क समितिहरूका वर्तमान अवस्थाका बारेमा कुरा उठान गर्दै सुनाउने मौका पाएको थिए।३० मिनेट भन्दा लामो भेटघाटमा सभापति देउवाले एकदमै गम्भीरता पूर्वक सुन्दै र त्यसको जवाफ दिँदै जानु भयो।काँग्रेस भित्र मेलमिलापको खाँचो एकदमै रहेको र गुटका कारण बोलिचाली समेत बन्द भएको कुरा बताउनु भयो।

मैले सोचेको थिए देउवाले हाम्रो कुरालाई त्यति चासो दिनु हुँदैन होला भन्ने तर परिणाम त्यस्तो रहेन।शालीन मुद्रामा हाम्रो कुरा सुन्नु भयो।पार्टी भित्रका कमी कम्जोरी र काँग्रेस हार्नुको कारण हामीलाई बाँड्नु भयो।जसरी मान्छेहरू देउवालाई अबुझ घमण्डी भन्ने संज्ञा दिन्थे तर मैले उहाँमा त्यस्तो केही पाइन।हो देउवाबाट कमी कम्जोरी नभएका भने पक्कै होइन राजदूत प्रकरण,आईजीपी प्रकरण र सुशीला कार्की प्रकरण उहाँकै कारणले उब्जिएको हो।उहाँलाई सल्लाह दिने आसेपासेहरूको पनि त्यति नै ठुलो भूमिका रहेको छ।यी प्रकरणहरूले काँग्रेसलाई घाटा त पुरायो नै त्यस माथि पनि ७४ को चुनावमा बाम गठबन्धन नै प्रमुख कारक तत्त्व बन्यो चुनाव हार्नुमा।

सबैले देउवाले नै हारको जिम्मेवारी लिनु पर्छ भनी रहँदा पौडेल,कोइराला,सिटौला,महत,केसी,थापा र सिंहहरूले चाहिँ लिन नपर्ने हो र ? केन्द्रीय कमिटीकाले जिम्मेवारी लिनु पर्दैन तसर्थ काँग्रेसका नेता हो सबै भन्दा पहिला आफूले आफैलाई चिन्ने प्रयास गरौँ म को हुँ भनेर आफ्नो धरातल बिर्सने कोसिस नगरौँ।काँग्रेसलाई विपीले तपाईँहरूको जिम्मामा दिनु भयो तर तपाइहरूले संरक्षण गर्न सक्नु भएन।लोकतन्त्रमा गुट हुन्छ नै तर त्यो गुटको पनि परिधि त पक्कै होला नि किन एक आपसमा पानी बाराबार ? जसलाई जहाँ जे बोल्न मन लागेको छ त्यही बोलेको छ।मर्यादाको कदर छैन।

सभापति देउवाले केही दिन अघि गच्छेदारलाई उपसभापति बनाएका छन् यसमा पनि विवाद भने नआएको होइन तर गच्छदारलाई उपसभापति दिँदा आपत्ति हुने केही छैन बाटो बिराएकालाई स्थान दिएर मनाउनु ठिकै हो तर सभापतिले हरेक निर्णय गर्दा कार्य समितिमा छलफल भने पक्कै गर्नु पर्दछ।महामन्त्री शशाङ्क एकदमै मौन हुनु हुन्छ।गगन जे मन लाग्यो त्यही बोल्नु हुन्छ।रामशरण महत,अर्जुन नरसिंह केसी,सुजाता कोइराला,रामचन्द्र पौडेल,शेखर कोइराला र प्रकाश मान सिंह भेटघाटमा व्यस्त छन्।किन केन्द्रीय कमिटीका पदाधिकारीहरूले देउवालाई लगाम लगाउन सक्दैनन् ? मलाई लाग्छ देउवाको एकल निर्णय मात्र सम्भव छैन होला।

यदि काँग्रेस र काँग्रेसीले काँग्रेसको साख जोगाउने हो भने पहिला आफैबाट सुधारीएर अगाडी बढ्नु होस्।वर्षको ३६४ दिन काँग्रेस बन्ने र चुनावको दिन आफ्नै पार्टीका उमेरवादलाई हराउने खेल खेल्ने प्रथा जब सम्म काँग्रेस भित्र अन्त्य हुँदैन तब सम्म काँग्रेसको सुनौलो भविष्यको परी कल्पना गर्न सकिँदैन।राम चन्द्र पौडेललाई कसले हरायो ? विश्व प्रकाश शर्मालाई कसले हरायो ? खोज्दै जाने हो भने यस्ता उदाहरण थुप्रै छन्।तसर्थ सबै भन्दा पहिला गुट नभै आफूलाई काँग्रेसको अनुयायी हुँ भन्ने भावना सृजित गर्नु होस्।मेरो सन्दर्भमा भन्ने हो भने म काँग्रेसको सिपाही हुँ।मलाई गुटको ट्याग भिर्नु छैन यसो भनी रहँदा देउवासँगको भेटमा खिचिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा हाल्दा मलाई देउवा गुटको भन्न पनि पछि परेनन् मित्रहरू खैर जे भए पनि म काँग्रेसको केवल एक सच्चा अनुयायी मात्र हुँ।म केवल काँग्रेसको चार तारे झन्डा र रुखलाई माया गर्छु र माया गरी रहने छु।