कांग्रेसमा देउवा र निधिबीच सित युद्ध, बोलचाल समेत बन्द - Himal Post Himal Post
  • १४ पुष २०८१, आईतवार
  •      Sun Dec 29 2024
Logo

कांग्रेसमा देउवा र निधिबीच सित युद्ध, बोलचाल समेत बन्द



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच खटपट सुरू भएको छ । कांग्रेसको चौधौँ महाधिवेशन नजिकिएसँगै उनीहरूबीच खटपट सुरू भएको हो । अझै एक कार्यकाल सभापति देउवाको चाहनाविपरित निधिले सभापति बन्ने तयारी गरेसँगै उनीहरूकोसम्बन्ध बिग्रिएको छ ।

पछिल्लो समय निधिले देउवाको सल्लाह विपरित कांग्रेसका संस्थापनइतर समूहसँग गठबन्धन निर्माण गरिरहेका छन्। उनले यसअघिको महाधिवेशनमै देउवाले आफूलाई सहयोग गर्छु भनेर वचन दिएको तर वचन कार्यन्वयन नगरी फेरि सभापतिमा उठ्न लागेको भन्दै देउवाको विरोध गरेका थिए ।

सभापतिमा उठ्दैछु भनेर निधिले मागेको सहयोगमा पनि देउवाले आफै उम्मेदवार बन्ने भन्दै सहयोग गर्न नसक्ने जवाफ फर्काएपछि निधिले देउवालाई महत्व दिन छाडेका छन्। पार्टीकै एक कार्यक्रममा सभापति र उपसभापतिबीच विवाद हुँदा निधिले महाधिवेशनमा देखाइदिने चेतावनी दिएका थिए । त्यसपछि बिग्रन थालेको सम्वन्ध अहिले भने उत्कर्षमा पुगेको बताइएको छ ।

स्रोतका अनुसार अहिले दुई नेताबीच बोलचाल समेत बन्द बहेको छ । केहि समयदेखि एउटाले अर्कोलाई नगन्ने अवस्था बनेको बताइएको छ ।

निधिको कार्यालयमा नजान देउवाको आदेश

यसैबीच १४औँ महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसका नेताहरू विभाजित हुन थालेका छन् । नेताहरूले आ-आफ्ना तयारी थाल्दा उपसभापति निधिले भने महाधिवेशन लक्षित कार्यालय नै सुरू गरेका छन् ।

उपसभापति निधिले कार्यालय उद्घाटन गर्दैगर्दा सभापति देउवाले भने आफू निकट केन्द्रीय सदस्यलाई निधिको कार्यालयमा नजान निर्देशन दिएका छन्। स्रोतका अनुसार देउवाले निधिका कुनैपनि कार्यक्रम र कार्यालयमा नजान आदेश दिएका छन् ।

निधिले सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेपछि तर्सिएका देउवाले केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा डाकेर कार्यक्रममा नजान आदेश दिएका हुन्। देउवाले त्यहाँ गएको सुचना पाएमा राम्रो नहुने भन्दै निधिका गतिविधिमा नजर राख्न निर्देशन दिएका थिए ।

एक नेताले बताए अनुसार देउवाले आदेश दिएकै कारण जान तयार भएका कतिपय नेताहरू पनि रोकिएका थिए । काठमाडौंको नयाँ बानेश्वरमा निधिले शुक्रबार विभिन्न धार्मिक पुजारीहरूलाई बोलाएर कार्यालय उद्घाटन गरेका छन् ।

उपसभापति निधिले कांग्रेसको आसन्न चौधौं महाधिवेशनमा सभापतिका लड्ने प्रयोजनका लागि सम्पर्क कार्यालय उद्घाटन गरेका हुन्। निधि सभापतिमा उठ्दा सबैभन्दा बढी क्षति देउवालाई नै हुने देखिएको छ ।