प्रचण्ड-नेपालको आग्रहपछि ओलीले बोलाएको बैठकमा देउवा नजाने
काठमाडौं- नेकपाभित्रको शक्तिसंघर्षको असर संवैधानिक परिषद्को बैठकमा परेको छ।
पार्टीभित्रको विवाद चर्किरहेकै वेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान परिषद्को बैठक बोलाएका थिए । तर, अन्तिम समयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सहभागी नहुने सूचना दिएपछि बैठक प्रभावित भएको छ।
देउवा बैठकमा नजाने भएपछि आइतबारको परिषद्को बैठकमा गणपूरक संख्या नै नपुग्ने अवस्था आएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डे र प्रकाश धौलाकोटीले लेखेका छन्।
शुक्रबार प्रधानमन्त्री ओलीले परिषद् बैठक तयारीलाई लिएर विपक्षी दलका नेता देउवासँग भेट गरेका थिए । शनिबार पनि प्रधानमन्त्री ओली र देउवाबीच भेट गर्ने कार्यतालिका थियो, तर आन्तरिक छलफलपछि देउवाले ओलीसँगको भेट स्थगित गरेका थिए।
स्थायी कमिटी बैठक जारी रहेको र पार्टीभित्र लगातार दबाबको सामना गरिरहेका प्रधानमन्त्री ओलीले विपक्षी दललाई समेत सहमतिमा ल्याएर विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्ने र पार्टीभित्रका विरोधी समूहलाई दबाबमा राख्ने रणनीति बनाएका थिए । २१ मंसिरमै आइतबारका लागि स्थायी कमिटी बैठक तय भएपछि मात्रै ओलीले त्यसै दिनका लागि परिषद् बैठक बोलाएका थिए।
तर, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले ओली अहिले संकटमा परेको र पार्टीभित्रको विवाद हल नभएसम्म परिषद् बैठकमा नजान देउवासँग आग्रह गरेका थिए । स्रोतका अनुसार यही आग्रहपछि देउवाले पार्टीभित्र छलफल गरी परिषद् बैठकमा नजाने निर्णय लिएका हुन्।
तर, कांग्रेस नेताहरूले भने सोमबारको आन्दोलनको कार्यक्रमलाई लिएर सभापति देउवाले परिषद् बैठकमा नजाने निर्णय लिएको बताएका छन् । कांग्रेसले सोमबार ७७ वटै जिल्लामा सरकारविरुद्ध विरोध प्रदर्शन कार्यक्रम राखेको छ।
देउवा सोमबारको विरोध कार्यक्रमलाई सम्बोधन गर्न हेटौँडा जाँदै छन् । सोमबारको विरोध कार्यक्रमका कारण सभापति देउवाले बैठकमा सहभागी नहुने खबर पठाएका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
संवैधानिक आयोगहरूमा चार–पाँच वर्षदेखि रिक्त पद तत्कालै पूर्ति गर्ने र सरकार बलियो रहेको सन्देश दिने प्रधानमन्त्रीको प्रयास थियो।
संवैधानिक आयोगहरूमा अहिले बढी सिट पाए पनि ओलीसँगको सहकार्यले नेकपाको विवाद प्रभावित हुने भन्दै देउवा बैठकमा नजाने निष्कर्षमा पुगेका हुन्। प्रचण्ड र माधव नेपालसँग पनि देउवाले संवाद सुरु गरेका छन्।