मोदी र देउवाबीच टेलिफोन संवाद: छिट्टै खोप आपूर्ति गर्ने मोदीको बाचा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलीफोन संवाद भएको छ । संवादमा मोदीले नेपाललाई छिट्टै कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री देउवासँग आज भएको टेलिफोन संवादमा मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका (कोभिसिल्ड) खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिएका थिए । साथै, द्धिपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि दुई समकक्षीबीच छलफल भएको जनाइएको छ ।
टेलिफोन संवादपछि भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै कोभिड-१९ महामारीविरुद्ध दुई मुलुक मिलेर लड्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् । वृहत हितका साझा विषयमा समेत मिलेर अघि बढ्ने दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
भारतले नेपाललाई १० लाख डोज अस्ट्राजेनेका खोप दिन बाँकी छ । भुक्तानी लिइसकेर पनि भारतले खोप आपूर्ति गरेको छैन । संसदमा विश्वासको मत हासिल गरेपछि मोदीले आइतबार राती देउवालाई ट्वीटमार्फत बधाई दिएका थिए ।