निधिले गरे काउन्टर: देउवाको स्वकीय सचिव नै निधि जिताउने अभियानमा
काठमाडौं- कांग्रेस नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवामाथि काउन्टर गरेका छन् । देउवाकै जिल्लाका सभापति कर्णबहादुर मल्ललाई आफ्नो समूहमा लिएर निधिले १४ औँ महाधिवेशनको तयारी थालेपछि देउवा तनावमा परेका छन् ।
कांग्रेस सभापति देउवाको स्वकीय सचिवको भूमिका पनि निर्वाह गरिसकेका मल्ल देउवाका रणनीतिक सहयोगीमध्येका मानिन्छन् । जिल्लाको राजनीति, चुनावी तयारीदेखि स्वर्गीय खुमबहादुर खड्कासहितका नेताहरुलाई देउवासँग मिलाउन मल्लले ठूलो भूमिका खेलेको निकट नेताहरु बताउँछन् ।
तर, पछिल्लो समय भने देउवा आफ्नै परिवारभित्रबाट बढी प्रभावित भएको र कार्यकर्तालाई न्याय नगरेको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । देउवा उमेदवारमात्र बन्दादेखि अघिल्लो महाधिवेशनसम्म लगातार देउवाको प्रस्तावक बसेका कर्ण मल्ल डडेलधुराको राजनीतिमा देउवा पत्नी आरजु हावी भएको भन्दै असन्तुष्ट थिए ।
आक्रामक रूपमा सभापति लड्ने तयारीमा लागेका निधिले देउवासँग समर्थन मागेपनि देउवाले भने फेरि आफै नेतृत्वमा जाने भनेपछि उनीहरूबीच खटपट सुरू भएको चर्चा छ । एकातिर देउवाकै जिल्लाका सभापतिलाई लिएर उनले अभियान सुरू गरेका छन् भने अर्कातिर हिन्दुत्वको एजेण्डा बोक्ने भएका छन्। यी दुवै कुराले देउवालाई काउन्टर हुनसक्छ ।
देउवा निकटका नेताहरुलाई निधिको कार्यक्रममा नजान र कार्यक्रममा निगरानी गर्न निर्देशन दिएको भन्दै निधिले आफूसँग निकट रहेका अन्य केन्द्रीय नेताहरुको नाम सार्वजनिक गरेका छैनन् । यसअघिको महाधिवेशनमा देउवालाई उमेदवार बनाउनेदेखि जिताउनेसम्मको अभियानमा निधिले साथ् दिएका थिए ।
१३औँ महाधिवेशनमा निधिले सहयोग गरेपछि १४औँ महाधिवेशनमा देउवाले निधिलाई उठाउने बचन दिएका थिए । तर अहिले पनि देउवाले आफै उठ्ने भन्दै निधिलाई रोक्न खोजेपछि उनीहरूबीच टक्कर देखिएको छ ।
देउवालाई दशौँ महाधिवेशनदेखि सभापतिको उमेदवार बनाउने र अभियानमा निधिनै लागिपरेको नेताहरू सम्झिन्छन । देउवाले निधिलाई दिएको बाचा पनि नेताहरूले सम्झिन्छन। तर देउवाले भने अझै एक पटक भन्दै सभापतिको दाबी गरिरहेका छन् ।