देउवाले लत्तो छाडे
काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले लत्तो छाडेका छन् । केहिदिन अगाडी मात्र आफ्नै नेतृत्वमा सरकार बनाउने र ओली सरकारको विकल्प खोज्न माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गरेका देउवाले आइतबार भने लत्तो छाडेका छन् ।
उनले आइतबार आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताए । आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै देउवाले अहिले पनि बहुमतकै सरकार भएकाले विपक्षी दलले प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने बताए ।
कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बने पछि नहट्ने उनको भनाइ छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने उनको भनाइ छ ।
उनले भने, ‘प्रचण्डजीहरूले समर्थन फिर्ता लिनुभएको छैन । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको वेलामा हामीले अरू कुनै कुरा सोच्ने छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदका लागि लालायित छैनौँ । तर, राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौँ ।’
देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास देउवाको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा डाकेको सर्वदलीय बैठक र एमसीसी पारित गर्ने प्रस्तावपछि देउवाले लत्तो छाडेका हुन् ।