प्रचण्डलाई ओलीले लात हान्दा देउवा खुशी
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले धोका दिँदा खुशी व्यक्त गरेका छन् ।
निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन गर्दै देउवाले आफ्नो सुझाव नमान्दा प्रचण्डले दुःख पाएको बताएका हुन्।
उनले प्रचण्डले खुट्टा टेक्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले लात हानेको बताए । प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा नमानेको प्रसङ्ग बताउँदै देउवाले आफ्नै कारणले प्रचण्डले दुख पाएको बताए ।
उनले २०७४ को निर्वाचनपछि प्रचण्डलाई आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको उनले सुनाए। ओलीलाई सत्ता सुम्पिँदा अहिले प्रचण्डको यो हबिगत बनेको उनको भनाइ छ। ‘मैले प्रधानमन्त्री बन्नुस् भन्दा मान्नुभएन। सत्ता बुझाउनु भयो। प्रचण्डले खुट्टा टेक्न नसक्दा ओलीले लात हाने,’ उनले भने।
देउवाले आज तीन दलको बैठक बोलाएको भन्दै सरकार गठनबारे छलफल हुने बताए। नयाँ सरकार बन्ने अवस्था नहरे चुनावमा जानुपर्ने उनको भनाइ थियो। ‘नयाँ सरकार बनेन भने चुनावमा जानुको विकल्प छैन। हामी तयार हुनुपर्छ,’ उनले भने।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि उपयुक्त विकल्पमा अघि बढ्नुपर्ने बताएका थिए।