देउवाले आफ्ना कार्यकर्तालाई सोधे 'खाली मेरो विरोध गर्नु हुन्छ, खै ओली सरकारको विरोध गरेको' ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

देउवाले आफ्ना कार्यकर्तालाई सोधे ‘खाली मेरो विरोध गर्नु हुन्छ, खै ओली सरकारको विरोध गरेको’ ?



बुटवल । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा केपी ओली नेतृत्वको सरकारविरुद्ध खनिएका छन् । ओली सरकार अधिनायकवादतर्फ अगाडि बढेको दाबी गर्दै उनले पार्टीले संसद र बाहिर दुबैतर्फबाट सरकारको सशक्त विरोध गर्नुपर्ने बताए ।

कांग्रेसले मंसिर अन्तिम साता काठमाडौँमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने राजनैतिक प्रस्ताव तयार गर्न सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रमलाई बिहिबार भैरहवामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले पार्टीका कार्यकर्ताले आफ्नो विरोध गरेको तर ओली सरकारले गरेका गलत कार्यविरुद्ध कुनै आवाज नउठाएको पनि गुनासो गरे । उनले भने ‘तपाईँहरु खाली मेरो विरोध गर्दै हिँड्नु हुन्छ, खै ओली सरकारको विरोध गरेको ? किन बोल्नुहुन्न् ?’

नेकपाकै नेता माधव नेपालले समेत पार्टी र सरकारको विरोध गरेको तर कांग्रेसका कार्यकर्ताहरुले भने सरकारको विरोध गर्न नसकेको उनको भनाई थियो । कांग्रेसका नेता तथा कार्यकर्ताले आफैँ भित्र अन्तरर्घात मात्रै गर्ने गरेको उनले उनले बताए । उनले भने, ‘अब पार्टी यसरी चल्दैन, पार्टी एकढिक्का बनाउँदै अन्तर्घात रोक्नुपर्छ र ओली सरकारको कडा विरोध गर्नुपर्छ ।’

भैरहवामा आयोजित प्रदेश नम्वर ५ को प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा यस प्रदेशका पार्टी केन्द्रिय सदस्य, आमन्त्रित केन्द्रिय सदस्य, पार्टी जिल्ला सभापति, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्य, महासमिति सदस्य,क्षेत्रीय सभापति,भातृ संघ एवं शुभेच्छुक संस्थाका प्रदेशस्तरीय सभापति, पार्टीबाट निर्वाचित नगर प्रमुख, उपप्रमुखलगायतका सहभागिता रहेको छ ।

पार्टीले प्रदेश ५ मा संयोजकका रुपमा केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई तोकेको छ ।