देउवालाई झट्का लाग्ने चुनावी परिणाम: आफ्नै समूहमा असन्तुष्टि
काठमाडौँ- कांग्रेस महामन्त्रीमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दुवै उम्मेदवार पराजित भएका छन् । देउवा प्यानलबाट महामन्त्री पदका उम्मेदवार पूर्व सहमहामन्त्री प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भएका हुन् । महत र पौडेलले तेस्रो र चौथो मत प्राप्त गरेका छन् ।
सभापतिमा देउवाले पहिलो चरणमै ४८ प्रतिशत मत पाएका थिए । तर, उनका महामन्त्री उम्मेदवार महतले ३३ प्रतिशत र पौडेलले ३० प्रतिशतमात्रै मत पाएका छन् । नेताहरूले आफ्नै टिमभित्रका आकांक्षीहरूको कुशल व्यवस्थापन गरेर टिमलाई एक ढिक्का गर्न नसक्दा दुवै उम्मेदवार पराजित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्रीमा शेखर कोइराला प्यानलका गगन थापा ३०२३ र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा १९८४ मतसहित विजयी भए ।
महामन्त्रीका प्रत्यासी महतले १५५०, पौडेलले १४०९, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाएका छन् ।
देउवा समूहमा टिम बनाउँदा नै असन्तुष्टि देखिएको थियो । महामन्त्री पदका लागि बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा, एनपी साउद, रमेश लेखकलगायत नेताहरु समेत आकांक्षी थिए । उनीहरूलाई पाखा लगाउनु नै देउवाका ठुलो गल्ती भएको उनकै समूहका नेताहरू बताउँछन् ।
आफ्नै समूहमा होनाहार उम्मेदवार हुँदाहुँदै देउवाले एक महामन्त्री पदमा सहमहामन्त्री प्रकाशसरण महतलाई अघि बढाए भने अर्को पदमा नेता कृष्णप्रसाद सिटौलासँग समीकरण गरेर प्रदीप पौडेललाई महामन्त्री उम्मेदवार बनाए । पौडेलको उम्मेदवारीको विषयलाई लिएर देउवा समूहमा लामै रस्साकस्सी चलेको थियो ।
तर, देउवाले आफू सभापतिमा जसरी पनि निर्वाचित हुनुपर्ने अवस्था रहेको भन्दै आफूनिकट नेताहरूलाई मनाएका थिए । शर्माले मात्रै विद्रोह गरेर प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएर महामन्त्रीमा विजयी भएका हुन् ।
यसअघि उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का विजयी भएका छन् भने अर्का उम्मेदवार विजयकुमार गच्छदार दुई मतले पराजित भए ।
देउवानिकट एक उम्मेदवारले सभापतिमात्रै जित्ने गरी रणनीति बनाएर अघि बढ्दा टिम कमजोर बनेको बताए । ‘सभापतिमा आएको जति मत महामन्त्रीमा आएन, उपसभापतिमा पनि हामीले हार बेहोर्नुपर्यो, टिममा असन्तुष्टिको असर परेको देखिन्छ,’ ती नेताले भने ।