नागरिकता प्रकरण: जिल्ला सभापतिहरू नै देउवाको विपक्षमा
काठमाडौँ– चर्चामा रहेको नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विदेशी ज्वाईंलाई समेत नागरिकता दिनुपर्ने अडान राखिरहेका बेला जिल्ला सभापतिहरू भने देउवाको अडानको विपक्षमा उभिएका छन् ।
जिल्ला सभापतिहरुले नेपाली महिलासँग विवाह गरेका विदेशी (ज्वाइँ)लाई नागरिकता दिने विपक्षमा उभिएका छन्। सभापति देउवासहितका शीर्ष नेताहरु नागरिकतामा समानता हुनुपर्ने भन्दै ज्वाइँलाई समेत नागरिकता दिने गरी कानुन बनाउनु पर्ने पक्षमा मत राखिरहेका बेला जिल्ला सभापतिहरुले पनि त्यस्तो प्रावधान मान्य नहुने बताएका हुन्।
सभापति देउवा, नेता शेखर कोइराला, गगन थापालगातयका नेताहरु विदेशबाट विवाह गरेर ल्याउँदा र विवाह गरेर जाँदा नागरिकताको विषय महिला पुरुषबीच विभेद हुन नहुने पक्षमा छन्।
नेताहरुले नेपाली महिलासँग विवाह गर्ने विदेशीलाई नागरिकता नदिने गरी तयार पारिएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सच्याउनुपर्ने पक्षमा छन्।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार जिल्ला सभापतिहरुसँग गरेको जुम मिटिङमा सभापतिहरुले नेपालीसँग विवाह गर्ने विदेशी पुरुषलाई नागरिकता दिन नहुने धारणा राखेका हुन्।
संयोजक निधिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सात वर्षपछि वैवाहिक नागरिकता दिने गरी गारित गरेको विधेयकको प्रतिवेदन संविधानको भावना विपरीत रहेको बताएका थिए।
उनले सात वर्षे प्रावधानप्रति तराईं मधेस मात्र नभई देशैभर आन्दोलन गर्न प्रस्ताव गरेका थिए। जवाफमा जिल्ला सभापतिहरुले पार्टीले निर्णय गरेर निर्देशन आन्दोलन गर्न तयार रहेको बताएका थिए।
जुम बैठकमा पार्टीको १४औं महाधिवेशनबारे पनि छलफल भएको प्रतिष्ठानका सचिव प्रकाश शर्माले जानकारी दिए। सभापतिहरुले कोरोनाका कारण पूर्व निर्धारित कार्यतालिका विथोलिएकाले नयाँ बनाउन सुझाव दिएका थिए।
एमसिसीबारे धेरै विवाद हुँदा कार्यकर्ता र नागरिकमा भ्रम फैलिएकाले त्यसलाई निवारण गर्न पार्टी पहल गर्नुपर्न सुझाव समेत जिल्ला सभापतिहरुले रोखका थिए।
जुम बैठकमा जिल्ला सभापतिहरु वीरबहादुर राना, दिनेश यादव, दीपन श्रेष्ठ, लवश्री न्यौपाने, नरनारायण शाह, बिष्णु लामिछाने, रमेश धमला, भुवन श्रेष्ठ, जीतनारायण श्रेष्ठ, लीला बोखिम, हरिप्रसाद बोहरा, भरतबहादुर स्वाँर, भेषबहादुर पौडेल, कविराज पण्डित सहभागी थिए।
त्यस्तै सभापतिहरु महेश शंकर गिरि, बैकुण्ठ न्यौपाने, नरेन्द्रकुमार केरुड, मधु आचार्य, रुद्र खड्का, महेन्द्र यादव, अजयकुमार द्विवेदी, प्रदीपकुमार सुनुवार, खिमप्रसाद भुसाल, नागेन्द्रकुमार राय, कृष्णप्रसाद यादव, केशरमान रोकाया, नन्दमणि राई, रामचन्द्र यादव, पेमा छिरिड, तामाङ र प्रदीप देउवा सहभागी थिए।