ओली फकाउन देउवाले बलकोटमा लगातार दूत पठाएपछि... - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

ओली फकाउन देउवाले बलकोटमा लगातार दूत पठाएपछि…



काठमाडौँ- सत्ताघटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिने चर्चासँगै नेपाली कांग्रेसका शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट धाउन थालेका छन्।

अमेरिकी सहायता परियोजना एमसीसीबारे सत्ता गठबन्धनभित्र एकैधारणा नबन्दा नेपाली राजनीतिले नयाँ रूप आरम्भ गरेको छ। वर्तमान सरकारले सहमतिबिना एमसीसी संसदको तल्लो सदनमा टेबल गरे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एस अध्यक्ष माधवकुमार नेपालले सरकार छाड्ने चेतावनी दिएका छन्।

माओवादी र एकीकृत समाजवादीले सरकार छाडेपछिको सम्भावित दृश्यलाई मध्येनजर गरेर कांग्रेस नेताहरू एमाले अध्यक्ष ओलीनिवास बालकोट धाउन थालेका हुन्।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले मुख्य प्रतिपक्षी दलका नेता ओलीसँग भेटवार्ता गरेका हुन्। उनी एकाबिहानै ओली भेट्न बालकोट पुगेको रिजालनिकट स्रोतले जनाएको छ।

रिजालले ओलीलाई भेट्न अघिल्लो दिन अर्थात् बुधबार साँझ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको थियो।

उनीहरूबीच अमेरिकी सहायता परियोजना एसमीसी संसदबाट पारित गर्नेबारे छलफल भएको दाबी गरिएको छ। एमाले महासचिव शंकर पाेखरेल र कांग्रेस महामन्त्री गगनकुमार थापाबीच निरन्तर सम्पर्क भएको स्रोतले जनाएको छ।