देउवाले कांग्रेस नेताहरूलाई भने: अब प्रचण्डको विरुद्धमा बोल्नुहोस - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

देउवाले कांग्रेस नेताहरूलाई भने: अब प्रचण्डको विरुद्धमा बोल्नुहोस



काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

नुवाकोटमा विपी स्मृति भवनको उद्घाटन गर्दै देउवाले निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन्।

उनले निर्वाचन हुँदैन भन्ने आफ्नै नेताहरुप्रति आक्रोशसमेत पोखे। उनले आदलतको सम्मान गर्नुपर्ने र अदालतको निर्णय मान्नुपर्ने बताए।

‘अदालतले जे फैसला गर्छ त्यो मान्ने हो। अदालतलाई विश्वास गरौं न प्लिज,’ उनले आफ्नै पार्टीका नेताहरुलाई भने, ‘मैले त उतिबेलै भनेको हो, कम्युनिष्टले जिते भने बोल्न पनि पाइँदैन। अहिले आएर हाम्रा साथीहरू ओलीको खिलाफमा बोल्न सक्ने भएछन्। तर प्रचण्डविरुद्ध बोल्न डराउँछन्। बिचराहरुलाई प्रचण्डको डर अझै हटेको रहेनछ।’

ओलीविरुद्ध बोल्न सक्ने भएकोमा उनले पार्टीका नेताहरुलाई धन्यवादसमेत दिए। ‘अहिले हाम्रा साथीहरु बल्ल ओलीको खिलाफमा बोल्ने भएछन् है। धन्यवाद छ है,’ उनले भने, ‘अब प्रचण्डको खिलाफमा पनि बोल्न सक्ने हुनुस्, म कम्युनिस्टको विरुद्धमा बोल्न सक्ने पार्टी बनाउन चाहन्छु।’

उनले निर्वाचन कहाँ हुन्छ भनेर आफ्नै नेताहरुले भनिरहेको स्मरण गर्दै भइहाल्यो भने तयारी गर्न पर्दैन, भाग्ने ? भन्दै प्रश्न समेत गरेका छन्।

नेकपाका दुवै समूहलाई निर्वाचन लागेको र चुनाव चिन्हको पछि लागेको तर आफ्ना दलका नेताहरु भने हुँदैन भनेर बसेको भन्दै आक्रोश पोखे।

‘चुनाव गराएनन् भने ओलीलाई निकाल्ने हो। चुनाव भइहाल्यो भने त्यसको तयारी गर्नुपर्दैन ? चुनाव हुँदैन, हुँदैन भन्छन्। पहिले यसै गरेर हालत खराब भयो,’ उनले भने, ‘अहिले भएन भने पनि भने डेढ वर्षमा चुनाव भइहाल्छ। तयारी गर्दा के बिग्रिन्छ। चुनावसँग डराए हुन्छ ? कि राजनीति छोड्नुस्, कि चुनावको तयारी गर्नुस्।’

उनले कांग्रेसलाई कांग्रेसबाहेक कसैले हराउन नसक्ने दाबीसमेत गरे। ‘हामीलाई कसैले हराउन सक्दैन। कांग्रेसलाई कांग्रेसले नै हराउँछ,’ उनले भने, ‘टिकट लिँदा सल्लाह गरौं, घर झगडा नगरौं।’