देउवा बिरुद्धको मोर्चा: सुजाता निवासमा ‘लन्च मिटिङ’ - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

देउवा बिरुद्धको मोर्चा: सुजाता निवासमा ‘लन्च मिटिङ’



काठमाडौं। १३औं महधिवेशनअघि विभिन्न समूहमा विभाजित भएका कांग्रेसका शीर्ष नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध पुनः एकठाउँ उभिन थालेका छन् । महाधिवेशनअघि एकअर्कासँग रुष्ट भएर टाढिएका नेताहरू पछिल्लो समय सभापति देउवाले पार्टी एकलौटी ढंगले चलाएको र विधि र विधानको उल्लंघन गरेको भन्दै एकठाउँ उभिन थालेका हुन् ।

सोमबार नेत्री सुजाता कोइरालाको निवास मण्डिखाटारमा भएको संस्थापनइतर समूहको बैठकमा नेताहरूले सभापतिविरुद्ध मोर्चाबन्दी गरेर जान रणनीति आवश्यक भएको निष्कर्ष निकाले ।
बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले पटकपटक महासमिति सारेर टार्ने रणनीति बनाएकाले त्यसो हुँदा कसरी अघि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

यस्तै, नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको समयावधिसमेत सकिन लागेका बेला संस्थापन पक्षले तदर्थ समिति बनाएर जाने संकेत गरेको भन्दै त्यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल भएको थियो । त्यसो हुँदा अर्को समानान्तर समिति बनाउन तयार हुनुपर्ने विषयमा नेताहरूबीच कुराकानी भएको ती नेताले जानकारी दिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा महासमिति, पार्टीको विधान र नेविसंघका विषयमा छलफल भएको बताए ।

‘महासमिति समयमा कसरी गर्ने, विधानमा कसरी अघि बढ्ने र नेविसंघको विषयमा के कसरी जाने भन्ने विषयमा छलफल भएको हो, समयमा नै सबै कुरा गरेर पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने सबैको ध्यान छ,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।
अर्का नेता डा. शेखर कोइरालाले पार्टी कमजोर भइरहेको अवस्थामा कसरी बलियो बनाएर जाने भन्ने विषयमा छलफल भएको जनाए ।

‘पार्टी झन्झन् कमजोर हुँदै गएको छ, सबैको चिन्ता कसरी पार्टीलाई बलियो बनाउने भन्ने हो, यस्तै नेविसंघको नेतृत्व महाधिवेशनमार्फत नै चयन गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ नेता कोइरालाले भने ।
बैठकमा नेताहरू बीच विजयकुमार गच्छदारलाई उपसभापति बनाउँदा विकल्प सहित बनाउन सक्ने ठाउँ हुँदा हुँदै सभापतिले विधानलाई नाघेर निर्णय गरेको भन्दै नेताहरूले असहमती जनाएका थिए ।
नेता अर्जुननरसिंह केसीले भने, ‘विधि र प्रक्रिया एकातिर राखेर स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गर्ने काम नेतृत्वबाट हुँदै आएको छ, पार्टी संस्थागत ढंगले चलेन भन्ने चिन्ता बैठकमा उठ्यो ।’

‘लन्च’ बैठकसँगै नेत्री सुजाता कोइराला पनि सभापति देउवासँग असन्तुष्ट समूहसँग नजिक भएकी छन् । यसअघि उक्त समूहमा कोइराला परिवारमध्येका डा. शेखर कोइराला मात्र सहभागी हुँदै आएका थिए ।
महामन्त्री कोइरालाले भने पछिल्लो समय सार्वजनिक कार्यक्रममा सभापतिको कार्यशैलीको विरोध गर्दै आएका छन् । तर, इतरसमूहको बैठकमा भने यसरी उनी सहभागी भएका थिएनन् ।
तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पार्टी नेतृत्वमा रहँदा धेरैजसो मिटिङ हुने थलोमा सोमबार पुराना समूह एकजुट भएको सन्देश दिने र महासमितिमा त्यसको प्रभाव देखाउने लक्ष्यसहित बैठक गरिएको एक नेताले जनाए ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुनरसिंह केसी, डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला, डा. रामशरण महत सहभागी थिए ।
तर, इतर समूहमा नै रहेर सभापतिको कार्यशैलीको विरोध गर्दै आएका अर्का नेता कृष्णप्रसाद सिटौला भने सहभागी भएनन् । उनी झापा पुगेका कारण ‘लन्च’ बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।